इंग्ल्यान्डका पूर्व टेस्ट कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्।
३५ वर्षीय स्टोक्सले एक कार्यक्रममा कुराकानी गर्दै खेलाडी जीवनपछि आफू क्रिकेटमै रहेर प्रशिक्षकको भूमिका निभाउन चाहेको बताएका हुन्। उनले अहिले नै प्रशिक्षक बन्न आवश्यक तेस्रो तहको प्रशिक्षणसमेत लिइरहेको जानकारी दिए।
‘म अहिले पनि खेलिरहेकै अवस्थामा तेस्रो तहको प्रशिक्षक प्रशिक्षण गरिरहेको छु। किनकि जुन दिन म खेल्न छाड्छु, त्यसबेलासम्म सबै प्रक्रिया पूरा गरिसकेको हुन चाहन्छु,’ स्टोक्सले भने। उनले भविष्यमा इंग्ल्यान्डको प्रशिक्षक बन्ने अवसर पाए आफू त्यसका लागि निकै उत्साहित हुने बताए।
‘म खेलबाट बाहिरिएपछि पनि यही खेलमा रहन चाहन्छु। म प्रशिक्षक बन्न चाहन्छु। र म कुनै दिन इंग्ल्यान्डको प्रशिक्षक बन्न चाहन्छु? पक्कै पनि,’ उनले भने। स्टोक्सले खेलाडीको रूपमा मैदानमा नेतृत्व गरिसकेपछि भविष्यमा मैदानबाहिर पनि नेतृत्वदायी भूमिकामा रहन आफूलाई मन पर्ने बताए।
स्टोक्सले सन् २०२२ देखि इंग्ल्यान्डको टेस्ट टोलीको कप्तानी गरेका थिए। तर गत जुनमा न्युजिल्यान्डविरुद्धको तीन खेलको टेस्ट शृंखलाको अन्तिम खेलका क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अचानक सन्यासको घोषणा गरेका थिए। उनको सन्यासअघि न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउनु परेको थियो।
लन्डनको एक रात्रि क्लबमा भएको घटनापछि उनी उक्त खेलमा सहभागी हुन सकेका थिएनन्। कप्तानीबाट बाहिरिएपछि इंग्ल्यान्डको टेस्ट टोलीको नेतृत्व ह्यारी ब्रुकले सम्हाल्ने अपेक्षा गरिए पनि त्यसो नभएकोमा स्टोक्सले आश्चर्य व्यक्त गरेका छन्। उनले जो रुटलाई पुनः कप्तानीको जिम्मेवारी दिइएको विषयमा पनि चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: १९ श्रावण २०८३ १३:०० मंगलबार



