युरोपको बलियो टोली बेल्जियम र न्युजिल्यान्डका लागि फिफा विश्वकपको समूह ‘जी’ मा शनिबार हुने प्रतिस्पर्धा ‘गर या मर’ को अवस्थामा पुगेको छ।
बेल्जियमलाई विश्वकपको उपाधि दाबेदारमध्ये एक मानिएको थियो। तर, समूहका लगातार दुई खेल बराबरीमा रोकिएपछि युरोपको यो बलियो टोली नकआउट चरण पुग्न अन्तिम खेलमा जित निकाल्नैपर्ने दबाबमा छ। विश्वकपमा पहिलो जित खोजीमा रहेको न्युजिल्यान्ड पनि अन्तिम ३२ मा पुग्ने झिनो सम्भावना जीवित राख्न बेल्जियमलाई हराउन चाहन्छ। त्यसैले भ्यानकुभरस्थित बिसी प्लेसमा शनिबार बिहान हुने यो खेल समूह चरणकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक मानिएको छ। विश्व फुटबलमा ‘गोल्डेन जेनेरेसन’ का रूपमा परिचित बेल्जियमले पछिल्ला केही वर्षयता आफ्नो वास्तविक क्षमता देखाउन सकेको छैन। यस संस्करणमा पनि इजिप्ट र इरानसँग लगातार बराबरी खेलेपछि बेल्जियम दुई अंकमै सीमित छ।
यद्यपि बेल्जियमको भाग्य अझै आफ्नै हातमा छ। शनिबार जित निकाले टोली समूहको शीर्ष दुईभित्र रहँदै नकआउट चरणमा पुग्नेछ। एक तथ्यांकले बेल्जियमसँग अन्तिम ३२ मा पुग्ने सम्भावना अझै ९२.२ प्रतिशत देखाएको छ। रुडी गार्सियाको टोलीका लागि सबैभन्दा ठूलो चिन्ता अवसर सिर्जना गरेर पनि गोल गर्न नसक्नु हो। इरानविरुद्धको खेलमा डिफेन्डर नाथन एन्गोय रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो। त्यसका बाबजुद टोलीले २३ पटक गोलतर्पm प्रहार ग¥यो। तर कुनै पनि प्रहारले जाली चुम्न सकेन। सन् १९९४ को विश्वकपमा साउदी अरेबियाविरुद्ध २८ प्रहार गोलमा परिणत गर्न नसकेपछि विश्वकपमा बेल्जियमले गोल नगरेको यो सबैभन्दा धेरै प्रहार हो। यो एक खेलको समस्या होइन।
सन् २०२२ र २०२६ को विश्वकप जोड्दा बेल्जियमले पाँच खेलमा कुल दुई गोल मात्र गरेको छ। तीमध्ये एउटा इजिप्टका मोहम्मद हानीको आत्मघाती गोल पनि समावेश छ। अर्को गोल मिची बात्सुआयीले गरेका थिए। यी दुई विश्वकपमा बेल्जियमले कुल ७३ प्रहार गर्दा एक खेलाडीबाट एउटा गोल आउनुले टोलीको कमजोर फिनिसिङ स्पष्ट देखाउँछ। पछिल्ला ६९ प्रहार लगातार गोलविहीन रहँदा कप्तान केभिन डी ब्रुयनले मात्रै १६ प्रहार गरेका छन्। उनले १२ उत्कृष्ट अवसर सिर्जना गरेका छन्। युरोपको यो बलियो टोलीले खेल नियन्त्रण गर्ने, अवसर बनाउने र विपक्षीमाथि दबाब सिर्जना गर्दै आए पनि अन्तिम क्षणमा गोल निकाल्न नसक्दा समस्यामा छ। यद्यपि बेल्जियमसँग आत्मविश्वास बढाउने केही तथ्य पनि छन्।
सबै प्रतियोगिता गरी लगातार १५ खेलदेखि बेल्जियम अपराजित छ। त्यसमा नौ जित र ६ बराबरी समावेश छन्। बेल्जियमको इतिहासमा यसभन्दा लामो अपराजित यात्रा सन् २०१६ देखि २०१८ सम्मको २४ खेल मात्र रहेको थियो। त्यसैले टोली आफ्नो लय कायम राख्दै निर्णायक क्षणमा जित निकाल्ने विश्वासमा छ।
शनिबारको खेल बेल्जियमका अनुभवी गोलकिपर थिबाउ कोर्टुवाका लागि पनि विशेष हुनेछ। मैदान उत्रिए उनी विश्वकपमा बेल्जियमबाट सर्वाधिक १८ खेल खेल्ने कीर्तिमान बनाउन सफल हुनेछन्। हाल उनी १७ खेल खेलेका एन्जो स्किफोसँग बराबरीमा छन्। कोर्टुवाले विश्वकपमा आठ क्लिन सिट राखिसकेका छन्, जुन विश्व फुटबलकै उत्कृष्ट उपलब्धिमध्ये एक हो।
न्युजिल्यान्डका लागि यो खेल इतिहास बदल्ने अवसर मानिएको छ। इजिप्टसँग ३–१ को हारपछि एक अंकमा रहेको न्युजिल्यान्डको नकआउट चरण पुग्ने सम्भावना निकै कमजोर देखिएको छ। शनिबार न्युजिल्यान्डको जित सम्भावना सात प्रतिशत मात्र अनुमान गरिएको छ तर प्रशिक्षक डारेन बाज्लीको टोली हार मान्ने पक्षमा छैन। इजिप्टविरुद्ध न्युजिल्यान्डले फिन सुरम्यानको हेडमार्फत अग्रता लिएको थियो। तर मोहम्मद सलाह र मोस्तफा जिकोको उत्कृष्ट प्रदर्शनसँगै खेलको दिशा परिवर्तन भयो। विश्वकपमा अग्रता लिएर पनि जित निकाल्न नसक्ने न्युजिल्यान्डको पुरानो समस्या फेरि दोहोरिएको हो। विश्वकप इतिहासमा न्युजिल्यान्डले आठ खेल खेल्दा चार बराबरी र चार हार बेहोरेको छ।
अग्रता लिएका तीनमध्ये कुनै पनि खेल जित्न नसकेको टोली अब पहिलो विश्वकप विजयको खोजीमा छ। यद्यपि न्युजिल्यान्डसँग आशा जगाउने केही इतिहास पनि छन्। विश्वकपमा युरोपेली टोलीविरुद्ध खेलेका पछिल्ला दुई खेलमा उसले हार बेहोरेको छैन।
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा उसले स्लोभाकिया र तत्कालीन विश्व च्याम्पियन इटालीसँग १–१ को बराबरी खेलेको थियो। त्यसैले बेल्जियमविरुद्ध पनि अर्को अप्रत्याशित नतिजाको अपेक्षा न्युजिल्यान्डले गरेको छ। बेल्जियमसँग अर्को रोचक तथ्य पनि जोडिएको छ। शनिबार पनि खेल बराबरीमा टुंगियो भने सन् १९९८ पछि विश्वकपको समूहचरणका तीनै खेल बराबरी खेल्ने पहिलो युरोपेली टोली बेल्जियम नै हुनेछ।
संयोगवश त्यो कीर्तिमान पनि १९९८ मा बेल्जियमकै नाममा थियो। यसपटक भने टोली त्यो इतिहास दोहोरिन नदिने लक्ष्यमा मैदान हुनेछ। कागजमा बेल्जियम स्पष्ट रूपमा बलियो देखिन्छ। एक तथ्यले ८१ प्रतिशत बेल्जियम विजयी बनेको छ।
न्युजिल्यान्डको जितको सम्भावना ६.९ प्रतिशत मात्र देखाइएको छ। १२.१ प्रतिशत खेल बराबरीमा सकिने अनुमान गरिएको छ। तर विश्वकपमा तथ्यांकभन्दा मैदानमा प्रदर्शनले अर्थ राख्दछ। दबाबमा रहेको बेल्जियम र ऐतिहासिक जित खोजीमा रहेको न्युजिल्यान्ड बीचको यो प्रतिस्पर्धाले समूह ‘जी’ को नकआउट समीकरण मात्र होइन दुवै टोलीको विश्वकप यात्राको भविष्य पनि निर्धारण गर्नेछ।
प्रकाशित: १३ असार २०८३ ०७:२० शनिबार