खेल

बंगलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने

बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन र सैफ हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।  

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत दुवैलाई टोलीमा स्वागत गर्दै उनीहरूलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बंगलादेशले यु-१९ विश्वकप जित्दा टोलीका सदस्य थिए। उनले सन् २०२०-२१ को बङ्गबन्धु टी-२० कपमा ४२ बलमै शतक बनाएका थिए। सन् २०२५ मा उनले  संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा पनि शतक प्रहार गरेका थिए।  

उनले हालसम्म ४० टी-२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। इमोनले यसअघि पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसकेका छन्। एनपिएल उनका लागि दोस्रो विदेशी लिग हुनेछ।  

यस्तै, ब्याटिङ र बलिङ दुवै गर्न सक्ने सैफले बंगलादेशका लागि टेस्ट, एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्।

सैफले टी-२० अन्तर्राष्ट्रियका ३१ खेलमा ६२९ रन बनाएका छन्। यस क्रममा उनले पाँच अर्धशतक प्रहार गरेका छन्। टी-२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर ६९ रन हो। उनले ११६.४८ को स्ट्राइक रेटमा रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा १५ खेल खेलेका उनले ३६९ रन बनाएका छन्। यस प्रारूपमा उनको उच्चतम स्कोर ८० रन छ। टेस्ट क्रिकेटमा भने उनले ६ खेल खेल्दै १५९ रन बनाएका छन्।

घरेलु क्रिकेटमा पनि सैफको अनुभव छ। उनले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा ३५ खेल खेल्दै ६७० रन बनाएका छन्। टी-२० क्रिकेटका समग्र प्रतियोगितामा उनले ११० खेलमा २ हजार १८३ रन बनाएका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ ०६:२५ बिहीबार