खेल

बंगलादेश‘ए’ले नेपाललाई दियो १८४ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेश ‘ए’ ले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ।

डार्विनस्थित डीएक्ससी एरिनामा टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनायो।

बंगलादेशका लागि ओपनर जिसान आलमले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७३ रनको योगदान दिए।

यस्तै, अन्त्यमा आतिफ होसेनले आक्रामक ब्याटिङ गर्दै अविजित ४८ रन जोडे। मात्र २३ बल खेलेका उनले ९ चौका प्रहार गरे। ओपनर मोहम्मद नइम शेखले २५ रन बनाए।

नेपालको बलिङमा युवा तीव्र गतिका बलर रिजन ढकालले २ विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने, करण केसी र नन्दन कुमार यादवले समान एक-एक विकेट लिए।

विश्वकप छनोटको तयारी स्वरूप यो सिरिज खेलिरहेको नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

प्रकाशित: ३१ श्रावण २०८२ १७:२६ शनिबार