खेल

पीएसएलमा बल टेम्परिङ विवाद: फखरमाथि आरोप, कस्तो कारबाही हुन सक्छ?

पाकिस्तान सुपर लीग (पीएसएल) मा लाहोर कलन्दर्सका ब्याट्सम्यान फखर जमानमाथि बल टेम्परिङको आरोप लागेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको हो। आइतबार कराँची किंग्सविरुद्धको खेलको अन्तिम ओभरमा कराँचीलाई जित्न १४ रन चाहिन्थ्यो।

त्यस बेला फखर, लाहोरका कप्तान शाहीन अफ्रिदी र तीव्र गतिका बलर हरिस रौफ छोटो छलफलमा थिए। छलफलका क्रममा फखर र रौफले बल पास गरेको देखिन्थ्यो।

त्यसपछि अम्पायरले रौफलाई भेटेर बल हेर्न भने। स्क्वायर लेग अम्पायरसँग परामर्श गरेपछि अधिकारीहरूले कराँचीलाई पाँच पेनाल्टी रन दिए र बल परिवर्तन गर्न आदेश दिए।

बल परिवर्तन भएपछि कराँचीले तीन बल बाँकी रहँदा १२९ रनको लक्ष्य पछ्याएको थियो। अब्बास अफ्रिदीले चौका र छक्का प्रहार गर्दै कराँचीलाई चार विकेटले जित दिलाए।

यो घटना पीएसएलको एघारौं संस्करणको एउटा खेलमा गद्दाफी स्टेडियममा भएको थियो। फखर जमानमाथि पीएसएल कोड अफ कन्डक्टको धारा २.१४ अनुसार लेभल ३ को अपराधमा आरोप लगाइएको छ।

फखरले आफूमाथि लागेको आरोप अस्वीकार गरेको पीसीबीले जनाएको छ। म्याच रेफ्री रोशन महानामा नेतृत्वमा भएको अनुशासनिक सुनुवाइमा फखरले आरोप अस्वीकार गरेका थिए।

अब ४८ घण्टाभित्र अर्को सुनुवाइ हुनेछ र त्यसपछि म्याच रेफ्रीले फैसला सुनाउने छन्। यो लेभल ३ को अपराधमा पहिलो पटक दोषी ठहरिएमा कम्तीमा एक खेल र बढीमा दुई खेलको प्रतिबन्ध हुन सक्छ। एजेन्सी 

प्रकाशित: १६ चैत्र २०८२ १३:०५ सोमबार