पाकिस्तानका स्टार ब्याटर तथा टेस्ट टिमका कप्तान बाबर आजम चोटका कारण इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्।
बेकेनहममा भएको अभ्यास खेलका क्रममा हातमा चोट लागेपछि उनले लिड्समा सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेल गुमाउने भएका हुन्। बाबरको स्थानमा सलमान अली आघालाई पाकिस्तानको कप्तानीको जिम्मेवारी दिइएको छ। बाबरले यसअघि वेस्ट इन्डिज भ्रमणमा पाकिस्तानको कप्तानी गरेका थिए।
पाकिस्तानका टोली व्यवस्थापनका सदस्य सरफराज अहमदले सलमानले राम्रो नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै टोली इंग्ल्यान्डलाई चुनौती दिन तयार रहेको बताए। उनले अभ्यास खेल जित्दै ब्याटिङ र बलिङ दुवैमा तयारी राम्रो भएको बताएका छन्। बाबरको चोटलाई दुर्भाग्यपूर्ण भन्दै सरफराजले उनी दोस्रो टेस्टसम्ममा फर्कने आशा व्यक्त गरे।
पाकिस्तान र इंग्ल्यान्डबीच तीन खेलको टेस्ट शृंखला हुँदैछ। विश्व टेस्ट च्याम्पियनसिपको जारी चक्रमा पाकिस्तानले ६ मध्ये दुई खेल जित्दा चारमा हार बेहोरेको छ र २२.२२ प्रतिशत अंकसहित आठौँ स्थानमा छ। इंग्ल्यान्ड सातौँ स्थानमा रहे पनि १३ मध्ये चार टेस्ट मात्र जित्न सफल भएको छ। वेस्ट इन्डिजविरुद्धको शृंखला १–१ को बराबरीपछि पाकिस्तान इंग्ल्यान्ड पुगेको हो।
प्रकाशित: ३ भाद्र २०८३ ११:२१ बुधबार