खेल

एथलेटिक्स टोली भारत जाने

तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको चण्डीगढ जाने भएको छ।

मार्च २८ तारिखमा हुने प्रतियोगितामा पुरुषतर्फ शिवराज पार्की, सुशील केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार र सञ्जीव नेपाली छन्। महिलामा सीमा चौधरी, अनिशा विक, सुमित्राकुमारी चौधरी र भग्रथी चौधरी छन्।

नेपालले पुरुष, महिला र मिक्सतर्फ ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर स्पर्धामा प्रतिस्पर्धा गर्ने छ। प्रशिक्षकमा उषाकुमारी कर्ण, बुद्धकुमारी घिमिरे र विमला रानामगर रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, नेपाल एथलेटिक्स संघका अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका थिए। सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, जगत टमटा र सन्तकुमार मेहतालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ चैत्र २०८२ ०६:१४ बिहीबार