खेल

एसियाली खेलकुद: वर्षा भयो भने नेपाल-श्रीलंका बीचको खेल के हुन्छ ?

एसियन गेम्सअन्तर्गत नेपाल र श्रीलंकाबीच मंगलबार हुने क्रिकेट खेलमा रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा गरिएको छ। नेपालको लगातार छैटौँ जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा सबैभन्दा ठूलो चुनौती वर्षा बन्ने देखिएको छ। खेल नेपाली समयअनुसार मंगलबार बिहान ५:४५ बजे सुरु हुनेछ।  

नेपाल पछिल्ला खेलमा उत्कृष्ट लयमा छ। पछिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले यस प्रतियोगिताको सुरुवातमै अफगानिस्तानलाई पराजित गरेको थियो। उक्त जितसँगै नेपालको टी–२० अन्तर्राष्ट्रियमा लगातार जितको संख्या ६ पुगेको छ।

अर्कोतर्फ श्रीलंका भने पछिल्ला चार टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार पराजित भएको छ। टोलीले हालै इंग्ल्यान्डसँगको तीन खेलको शृंखला ३–० ले गुमाएको थियो। त्यसअघि क्यारेबियनमा २–१ ले पराजित भएको श्रीलंका टी–२० विश्वकपबाट पनि लगातार चार हारसहित बाहिरिएको थियो।

श्रीलंकाले भने लामो समयपछि निरोशन डिकवेलालाई टी–२० टोलीमा फर्काएको छ। सन् २०२१ पछि पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय टोलीमा फर्किएका डिकवेलामाथि श्रीलंकाको ब्याटिङमा अनुभव थप्ने जिम्मेवारी हुनेछ।

वर्षाले बिगार्न सक्छ नेपालको समीकरण

नेपाल र श्रीलंकाबीचको खेलमा मौसम सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। जापानको निसिनमा पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेको छ। शनिबार नेपालले आयोजक जापानविरुद्ध १५ ओभरमा १४९ रन बनाइसकेको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो।

मंगलबार पनि स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने खेलका क्रममा वर्षाको सम्भावना रहेको छ। पूर्वानुमानअनुसार साँझ ६ बजेसम्म वर्षा हुन सक्ने भएकाले खेल पूर्ण रूपमा प्रभावित हुने जोखिम छ।

यसअघि प्रतियोगिताका पछिल्ला चार खेलमध्ये तीन खेल टससमेत नभई वर्षाका कारण रद्द भएका छन्। अर्को एक खेल १५ ओभरपछि रोकिएको थियो।

नेपाल–श्रीलंका खेल पनि वर्षाका कारण रद्द भएमा उच्च वरियतामा रहेको श्रीलंका सेमिफाइनलमा पुग्नेछ, जबकि नेपालको प्रतियोगिता त्यहीँ समाप्त हुनेछ। यसअघि भारत र पाकिस्तानले पनि वर्षाका कारण क्वार्टरफाइनल खेल खेल्न नपरी सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

खेल पूरा भएमा भने नेपालका लागि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै श्रीलंकाविरुद्ध महत्वपूर्ण जित निकाल्ने अवसर हुनेछ। नेपाल र श्रीलंकाबीचको खेलको नतिजाले एसियन गेम्सको क्रिकेटमा नेपालको पदक यात्राको दिशा समेत तय गर्नेछ।

प्रकाशित: १२ आश्विन २०८३ १६:०२ सोमबार