खेल

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

२० औँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन्।

गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिएका छन्। उनले खेलाडीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताए।

यस्तै, जुडोमा निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि तथा विशेषले पुरुष ६६ र विकासले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगर सेमिफाइनलमा पुगेका छन्। मंगलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए।  

जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। रासस

प्रकाशित: १४ आश्विन २०८३ ०७:१९ बुधबार