जापानको इची-नागोयामा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ।
पहिलो हाफमा ९ अंकले पछि परेको स्थिति उल्ट्याउँदै नेपालले सोमबार भएको समूह ‘बी’ को रोमाञ्चक खेलमा थाइल्यान्डलाई ४६-४३ अंकले पराजित गरेको हो।
जापानको टोकाइ सिटिजेन हलमा भएको खेलको पहिलो हाफमा नेपाली टोली दबाबमा परेको थियो। पहिलो हाफ १५-२४ को स्कोरमा गुमाएको नेपालले दोस्रो हाफमा भने अप्रत्याशित र उत्कृष्ट पुनरागमन गर्यो। दोस्रो हाफमा नेपाली खेलाडीहरूले एकपक्षीय रूपमा ३१ अंक जोड्दा थाइल्यान्डले १९ अंक मात्र थप्न सक्यो।
पहिलो खेलमै बलियो प्रतिद्वन्द्वीलाई हराएपछि टोलीको मनोबल उच्च बनेको महिला टोलीका प्रशिक्षक पार्वती राईले जानकारी दिइन्।
नेपाल रहेको समूह ‘बी’ मा थाइल्यान्डसहित श्रीलङ्का र चाइनिज ताइपेइ छन्। नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा बुधबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।
चार टोली सहभागी समूह 'बी' बाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको अर्को समूह 'ए' मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन्।
यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले महिला कबड्डीतर्फ ऐतिहासिक कास्य पदक जितेको थियो।
प्रकाशित: ६ आश्विन २०८३ २०:३८ मंगलबार