खेल

एसियाली खेलकुद : मीन र राकेश पराजित

राम्रो सुरुआत देखाउँदै पदकको सम्भावना देखाएका नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर नागोया/आइचीमा जारी २०औँ एसियाली खेलकुदको कांस्य पदकको प्रतिस्पर्धामा असफल भएका छन्।

तोयाहासी जिम्नाजियममा भएको पुरुष कुमुतेतर्फ ६० केजीमुनि तौलसमूहका मीनबहादुर र ५५ केजीमुनि तौलसमूहका राकेश मानन्धर कांस्य पदकको प्रतिस्पर्धामा पराजित भएका हुन्।

दुवैले सेमिफाइनलमा पराजित भएपछि कांस्य पदकको लागि प्रतिस्पर्धा गरेका थिए। तर, कांस्यको प्रतिस्पर्धामा राकेश मलेसियाका कालियाना सुन्दरम र मीनबहादुर साउदी अरेबियाका अल बसिर बी साउद अब्दुलाजिजसँग २-० ले पराजित हुन पुगे।

त्यसअघि मीनले दुई फाइट जित्दै सेमिफाइनल यात्रा तय गरेका थिए भने राकेशले पहिलो राउन्डमा बाइ र दोस्रो राउन्डमा जित निकालेका हुन्।  

मीनबहादुर कुमुते पुरुष ६० केजीमुनिमा सेमिफाइनलमा कुवेतका साहब अब्दुल्लाहसँग १०-१ को लज्जास्पद हार बेहोर्न पुगे। यसअघि प्रिक्वार्टरफाइनलमा मीनले हङकङका हिम चाउलाई ४-१ ले पराजित गरे। क्वार्टरफाइनलमा भने मीनले ताजकिस्तानका मिर्जाेजोदा मुहम्मदलाई २-० ले हराएका थिए। उनी एसियाली खेलकुदमा पहिलो खेल जित्ने नेपाली खेलाडी बनेका छन्।

५५ केजीमुनिका राकेशले सेमिफाइनलमा उज्बेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जासँग ७-० ले पराजित भएका हुन्। अनुभवी खालिमोभले युकीमा दुई तथा इप्पोन गरे। तर, राकेशले कुनै पनि अंक जोड्न सकेनन्। यसअघि राकेशले थाइल्यान्डका इङ्गलो नाथक्रितलाई ९-० ले हराए।

प्रकाशित: ४ आश्विन २०८३ १३:४५ आइतबार