एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो।
जितका लागि नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९ दशमलव एक ओभरमा लक्ष्य पूरा गर्यो।
भारतको जितमा आर्यभिर सेवाङले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५२ बलमा सात चौका र चार छक्काको सहयोगमा अविजित ७० रनको योगदान दिएका हुन्।
त्यसैगरी लक्ष्य रैचदनीले ६३ बलमा सात चौकाको सहयोगमा अविजित ५३ रनको योगदान दिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनाएको थियो।
नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए। उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा नीरजकुमार यादवले ४८ बलमा २० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर तीन विकेट लिए।
त्यस्तै अर्जुन राजपुतले पाँच दशमलव तीन ओभरमा आठ रन दिँदै तीन विकेट हात पारे। शवीर गौडले दुई विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान एकरएक विकेट लिए।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। अब नेपालले यही कात्तिक २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्नेछ।
प्रकाशित: २० कार्तिक २०८३ १६:११ शुक्रबार