खेल

प्रिसिजनमा आर्सनलको लगातार दोस्रो हार, डर्टमन्डसँग ३–२ गोल अन्तरले पराजित

प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनल प्रिसिजन तयारीको आफनो दोस्रो खेलमा पनि पराजित भएको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा आर्सनल जर्मन क्लब बोरुसिया डर्टमन्डसँग ३–२ गोल अन्तरले पराजित भएको हो।

डर्टमन्डले खेल सुरु भएको पाँचौं मिनेटमै अग्रता लिएको थियो। फेलिक्स एनमेचाको उत्कृष्ट पासमा इटालियन युवा खेलाडी सामुएले इनासियोले शानदार गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाएका थिए।

पहिलो हाफको हाइड्रेसन ब्रेकअघि डर्टमन्डले अग्रता दोब्बर बनायो। ग्रीक युवा खेलाडी करेचासले करिब मध्यभागबाट बल अघि बढाउँदै उत्कृष्ट प्रहारमार्फत गोल गरेका थिए। दोस्रो हाफमा आर्सनलले खेलमा फर्कने संकेत देखायो। जोलिसले मिलाइदिएको बलमा वैकल्पिक खेलाडी इथान नवानरीले नजिकैबाट गोल गर्दै खेल २–१ मा पुर्‍याए।

तर, जोआने गाडुले ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई जाली चुमाए पछि डर्टमन्डले अग्रता ३–१ मा पुर्‍यायो। त्यसपछि आर्सनलले लगातार दबाब बढायो। जोलिसलाई डर्टमन्डको पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीमा भिक्टर ग्योकेरेसले गोल गर्दै अन्तर ३–२ मा झारे।

खेलको अन्तिम समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई बराबरीमा पुर्‍याएको जस्तो देखिएको थियो। तर उनको गोल अफसाइड घोषित भएपछि आर्सनलको पुनरागमन अधुरै रह्यो। यस हारसँगै आर्सनलले प्रिसिजनमा लगातार दोस्रो पराजय बेहोरेको छ। नयाँ सिजन नजिकिँदै गर्दा टोलीको रक्षापंक्तिमा देखिएको कमजोरी प्रशिक्षक मिकेल आर्टेटाका लागि चिन्ताको विषय बनेको छ।

प्रकाशित: २५ श्रावण २०८३ ०७:१४ सोमबार