इंग्लिस क्लब आर्सनल ब्राजिलियन फरवार्ड गाब्रियल मार्टिनेलीलाई साउदी अरेबियाको क्लब अल-हिलाललाई बेच्ने तयारीमा पुगेको छ। दुई क्लबबीच कम्तीमा ५० मिलियन पाउन्डमा सम्झौता गर्ने विषयमा उन्नत चरणमा छलफल भइरहेको छ।
२५ वर्षीय मार्टिनेली आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाको आगामी योजनामा नरहेको बताइएको छ। पछिल्लो २४ घण्टामा दुई क्लबबीचको छलफल थप तीव्र बनेको छ र सम्झौता नजिक पुगेको जनाइएको छ।
सम्झौता अन्तिम रूप लिएमा अब मार्टिनेलीले साउदी प्रो लिग जाने वा नजाने निर्णय गर्नुपर्नेछ। उनले यसअघि टर्किस क्लब गालातासारेको प्रस्ताव अस्वीकार गरिसकेका छन्। अल-हिलालले उनलाई आर्सनलमा पाइरहेको भनिएको साप्ताहिक १ लाख ८० हजार पाउन्डभन्दा निकै बढी पारिश्रमिक प्रस्ताव गरेको बुझिएको छ।
मार्टिनेली सन् २०१९ मा ब्राजिलियन क्लब इटुआनोबाट आर्सनल आएका थिए। उनको आर्सनलसँगको सम्झौता अब १२ महिना मात्र बाँकी छ। गत सिजन उनले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ११ गोल गरेका थिए।
तर नयाँ सिजनको सुरुवाती खेलमा भने उनलाई टोलीमा समावेश गरिएको थिएन। आर्सनलले कोभेन्ट्रीविरुद्धको खेल ३-० ले जित्दा मार्टिनेली बेन्चमै समेत देखिएनन्।
आर्सनलका पूर्वफरवार्ड इयान राइटले मार्टिनेलीप्रति क्लबको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले खेलाडीलाई क्लबबाट बाहिर पठाउने निर्णय भए पनि त्यसको प्रक्रिया मार्टिनेलीका लागि समेत उचित हुनुपर्ने बताएका छन्।
अल-हिलालले मार्टिनेलीबाहेक एस्टन भिल्लाका इंग्ल्यान्डका फरवार्ड ओली वाट्किन्सलाई पनि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ। वाट्किन्सले पनि भिल्लाको पछिल्लो खेलमा सहभागिता जनाएका थिएनन्।
प्रकाशित: ९ भाद्र २०८३ ०८:१७ मंगलबार