खेल

गुमायो एपिएफले अवसर, पछ्याउँदै आर्मी

विभागीय टोली एपिएफले अग्रता जोगाउन नसक्दा राष्ट्रिय लिगमा बराबरीको नतिजासँगै शीर्ष स्थानका लागि अंकदूरी बढाउने अवसर गुमाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले सोमबार प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग १-१ गोलको बराबरी नतिजा सामना गर्‍यो। शीर्ष स्थानको एपिएफले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो। एपिएफका कप्तान युवराज खड्का र प्लानिङका एलेक्स विलियमले गोल गरे। दुवै हाफमा समान एक गोल भयो। एपिएफले शीर्ष स्थानको लागि अंक बढाउने अवसर गुमाएको छ। बराबरीपछि प्लानिङले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। सोमबार नै त्रिभुवन आर्मी क्लब विभागीय डर्बीमा नेपाल पुलिस क्लबमाथि ४-१ को जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लियो। समान ९ खेलबाट एपिएफ २१ अंक र आर्मी २० अंकसहित शीर्ष दुई स्थानमा छन्।

तेस्रो स्थानमा चार टोली छन्। चर्च ब्वाइज, लालीगुराँस एसोसिएसन, प्लानिङ ब्वाइज र मच्छिन्द्र क्लब गरी चार टोलीले समान १९ अंक जोडेका छन्। तर, एपिएफ र लालीगुराँसले ९ खेल, प्लानिङले १० खेल र मच्छिन्द्रले आठ खेल खेलेका छन्। खेलको २१औं मिनेटमा एपिएफले कप्तान युवराजको गोलबाट अग्रता लियो। मध्य भागबाट अनिश घर्तीले युवराजलाई फ्लिक पास दिए। प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमाल अगाडि बढेको अवस्थामा युवराजले पेनाल्टी बक्सबाहिरबाट गरेको ओभर हेड सटले जाली चुमेको हो। ६ मिनेटपछि प्रदीप लामाले लामो दूरीबाट गरेको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालका लागि चुनौती भएन।

३५औं मिनेटमा एपिएफका अनिशले अग्रता दोब्बर बनाउने अवसर गुमाए। प्रदीप लामाको कट ब्याकमा अनमार्क अनिश १० यार्डबाट गोल गर्न चुके। ३६औं मिनेटमा प्लानिङ ब्वाइजले पहिलो अवसर बुन्यो। तर, कप्तान प्रतापसिंह राईले २५ यार्डबाट गरेको सट एपिएफका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। चार मिनेटपछि प्लानिङ ब्वाइजका पापा केबेको फ्रिकिक प्रहार सफल भएन। ४१औं मिनेटमा एपिएफका प्रदीप लामाको हेडर बारमाथिबाट बाहिरियो। पहिलो हाफमा एपिएफ १-० ले अगाडि रह्यो। ६२औं मिनेटमा प्लानिङ ब्वाइज एलेक्सको गोलबाट बराबरीमा फर्कियो।

उनले पापा केबेको पास नियन्त्रणमा लिँदै पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरेका हुन्। उनले दोस्रो बार च्याप्दै गरेको प्रहार एपिएफका गोलकिपर एन्जलले भेट्टाउन नै सकेनन्। ६९औं मिनेटमा एलेक्सले अग्रता लिने अवसर गुमाए। रोमन भुजेलको फ्रिकिकमा नजिक दूरीबाट उनको हेडर पोस्टको दिशामा रहन सकेन। ८८औं मिनेटमा पापा केबेको बाइसाइकल किक एपिएफका गोलकिपर एन्जलले उत्कृष्ट बचाउ गरे। प्रतापसिंहको क्रस पापाले नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गरेका हुन्। त्यसपछि पनि थप गोल हुन सकेन र खेल बराबरीमा नै सकियो। त्यसअघि भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबमाथि २-० को जित निकाल्यो।

फ्रेन्ड्सका प्रशान्त लक्षमले एक गोल गरे। अर्को गोल आत्मघाती रूपमा पाएको हो। विश्वास चौधरीले आत्मघाती गोल गरेका हुन्। फ्रेन्ड्स ९ खेलबाट ९ अंक जोड्दै दसौं स्थानमा उक्लिएको छ। श्री भगवती ९ खेलबाट आठ अंकसहित १२औं स्थानमा झर्‍यो।  दिनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले विभागीय डर्बीमा नेपाल पुलिस क्लबमाथि ४-१ को जित निकाल्यो। नीराजन धामीले दुई गोल तथा पेम्बा दोर्जे लामा र किरण सुनारले एक गोल गरे। दशरथ गिरीले गोल फर्काउँदै १-१ को बराबरीमा ल्याए पनि नेपाल पुलिसले हार टार्न सकेनन्। यो जितसँगै आर्मी ९ खेलबाट २० अंक जोड्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लियो। पुलिस भने ९ खेलबाट आठ अंकसहित ११औं स्थानमा यथावत् छ। 

प्रकाशित: २६ फाल्गुन २०८२ ०७:३० मंगलबार