खेल

मेस्सीको नाममा थपियो अर्को प्रतिष्ठित सम्मान

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार प्राप्त गरेका छन्। 

शुक्रबार स्पेनको ओभिडोमा आयोजित समारोहमा स्पेनी राजकुमारी लियोनोरले ३९ वर्षीय मेस्सीलाई पुरस्कार प्रदान गरेकी हुन्। उत्कृष्ट खेल जीवन र विपन्न बालबालिकाको स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउन गरेको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको हो।

पुरस्कारको निर्णायक मण्डलले मेस्सीलाई विश्व फुटबलका सफल खेलाडीमध्ये एक भन्दै उनको खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र सामाजिक कार्यको प्रशंसा गरेको थियो। राजकुमारी लियोनोरले मेस्सीको खेल जीवनलाई ‘अद्वितीय’ भन्दै उनले खेल बुझ्ने क्षमता र छोटो समयमा सही निर्णय लिन सक्ने गुणको प्रशंसा गरिन्। उनले व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतालाई प्राथमिकता दिएको पनि बताइन्।

मेस्सीले आफ्नो करियरमा आठ पटक बालोन डी’ओर जितेका छन् भने अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि दिलाएका थिए। उनले बार्सिलोनामा २१ वर्ष बिताउँदै चार पटक च्याम्पियन्स लिग र १० पटक स्पेनिस ला लिगाको उपाधिसहित थुप्रै ट्रफी जिते। बार्सिलोनामा रहँदा उनले पेप ग्वार्डियोला र लुइस एनरिकेको प्रशिक्षणमा खेलेका थिए।

सन् २०२१ मा बार्सिलोना छाडेपछि मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनमा आबद्ध भएका थिए। त्यहाँ दुई वर्ष बिताएपछि उनी अमेरिकी क्लब इन्टर मियामी पुगे। क्लब फुटबलसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पनि उनले उल्लेखनीय सफलता हासिल गरेका छन्।

पुरस्कार समारोहमा मेस्सीलाई समर्थन गर्न अर्जेन्टिनाको जर्सी लगाएका दर्जनौँ समर्थक उपस्थित थिए। उनी समारोहस्थल पुग्दा समर्थकले उनको नाममा जयजयकार गरेका थिए। पुरस्कार ग्रहण गर्नुअघि उनले बालबालिकासँगको कार्यक्रममा जित र हार दुवैलाई स्वीकार गर्न सक्नु महत्त्वपूर्ण रहेको बताएका थिए। ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कसरी हार्ने र कसरी जित्ने भन्ने जान्नु हो,’ उनले भने।

सन् १९८१ मा स्थापना भएको प्रिन्सेस अफ अस्टुरियस पुरस्कार कला, विज्ञान, खेलकुद र अन्य क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ। पुरस्कारसँगै ५० हजार युरो पनि दिइन्छ। यस वर्ष पुरस्कार प्राप्त गर्ने अन्य व्यक्तिमा बेलायती लेखक जुलियन बार्न्स, अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच र संगीतकर्मी प्याटी स्मिथ छन्। 

यसअघि टेनिस खेलाडी सेरेना विलियम्स र राफेल नाडाल तथा म्याराथन धावक एलियुड किपचोगेले पनि खेलकुद विधातर्फ यो पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित: ७ कार्तिक २०८३ ०८:२१ शनिबार