खेल

उपत्यकाव्यापी बास्केटबलको उपाधि एंगल लर्डलाई

आयोजक एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरलाई पराजित गरी उपत्यकाव्यापी बास्केटबलको उपाधि एंगल लर्ड एकेडेमी हाइस्कुलको पोल्टामा परेको छ ।  

बुधबार भक्तपुरमा भएको फाइनल खेलमा आयोजक एभरेस्ट स्कुल मिवाछें व्यासीलाई पराजित गरी सिनियर ब्याइजतर्फ एंगल लर्ड एकेडेमी हाइस्कुल विजयी भएको हो ।  

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको छात्रातर्फको सिनियर गल्र्सतर्फ कान्जीरवा नेशनल हायर सेकेण्डरी स्कुल विजयी भएको छ । निस्ट स्कुललाई फाइनलमा पराजित गरी कान्जीरवा विजयी हुन सफल भएको हो । जुनियर गल्र्सतर्फ आर्या एकेडेमी विजयी बनेको छ । निस्ट स्कुललाई पराजित गरी आर्या विजयी बनेको हो । साथसाथै जुनियर व्याइजतर्फ सन्जय साइ विद्या मन्दिरलाई पराजित गरी विंगस् मन्टेश्वरी विजयी बनेको छ ।  

सिनियर व्याइज, जुनियर व्याइज, सिनियर गल्र्स र जुनियर गल्र्स गरी चार विधामा प्रतियोगिता चलेको छ । चारवटै फाइनल खेल बुधबार स्कुलकै प्रांगनमा भएको थियो ।  

एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको यस वर्ष नवौं संस्करण हो । नवौं प्रतियोगितासम्ममा आयोजक एभरेस्ट स्कुल नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगितामा दोश्रो पटक फाइनलसम्म पुग्न सफल भएको जनाइएको छ ।  

प्रतियोगितामा मस्त भ्यालुएल प्लेयर्सको रुपमा सिनियर गल्र्सतर्फ कान्जीरवाकी जुना श्रेष्ठ, सिनियर व्याइजतर्फ एंगेल लर्डका समिर थापामगर, जुनियर गल्र्सबाट आर्या एकेडेमीकी स्नेहा श्रेष्ठ र जुनियर व्याइजमा विंग्स् एकेडेमीका संदुप दोग तामांग घोषित हुन सफल भए ।  

प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई बुधबार नै शिल्ड तथा प्रमाणपत्र वितरण गरियो । राष्टिय गानका सर्जन प्रदीपकुमार राई (व्याकुल माइला)ले उनीहरु सवैलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।  

समापन कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डसिप फस्ट, कम्युटिशन सेकेण्ड (मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो) भन्ने मुल ध्येयका साथ स्कुलले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । राजभण्डारीले सके जितिन्छ नसके सिकिन्छ भन्ने मान्यताका साथ २०७२ सालदेखि प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएकोमा कोरोनाका कारण दुई वर्ष प्रतियोगिता हुन नपाएको पनि स्मरण गरे ।  

प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २७ वटा स्कुलहरुबाट ४४ वटा टिमहरु गरी कुल ५२८ जना विद्यार्थी सहभागी भइरहेका थिए । 

प्रकाशित: २४ मंसिर २०८२ १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App