नेपाली यु–२० महिला फुटबल टोलीका स्टार खेलाडीले भरिएको संकटा क्लबले जारी एन्फा महिला लिग छनोटमा आफ्नो विजययात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।
च्यासलस्थित च्यासल फुटबल मैदानमा संकटाले शुक्रबार लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरमाथि ६–१ को नतिजा निकाल्दै चौथो जित आत्मसात् गरेको हो। अग्रता गुमाएको लम्कीले फराकिलो हार पनि सामना गर्यो। यससँगै समूह ‘बी’ को संकटाले पुनरामगन जित निकाल्दै अपराजित यात्रा चौथो खेलसम्म कायमै राख्यो। त्यसअघि पहिलो खेलमा आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले पनि छहारी युवा क्लबमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो।
सात टोली रहेको समूहमा चौथो जित निकाल्दै संकटाले शीर्ष स्थानमा रहेर छनोट हुने सम्भावना बलियो बनाएको छ। समूहका शीर्ष दुई टोलीले सीधै राष्ट्रिय महिला लिग फुटबलमा स्थान बनाउनेछन्।
तेस्रो स्थानमा रहने दुई समूहका तेस्रो टोलीले भने प्लेअफमार्पmत राष्ट्रिय लिगमा स्थान पक्का गर्नेछ। संकटाले चौथो जितसँगै चार खेलबाट १२ अंक जोडेको छ। पराजित लम्कीको समान खेलबाट एक अंक छ। संकटामा पूर्णिमा राईले दुई तथा सुक्रिया मिया, रेनिशा शर्मा, अनिशा राई र सेनु परियारले समान एक गोल गरे।
पूर्णिमा, सुक्रिया र अनिशा नेपाली यु–२० महिला टोलीका स्टार खेलाडी हुन्। लम्कीका लागि मेनका शाहीले गोल गरिन्। खेलमा भने संकटा सुरुआतमा पछि पर्यो। खेलको ४१औं मिनेटमा मेनकाको गोलमार्फत लम्कीले अग्रता लिएको थियो। पहिलो हाफमा लम्की १–० ले अगाडि पनि रह्यो । तर, संकटाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो।
सुक्रियाले ५०औं मिनेटमा संकटालाई बराबरीमा ल्याइन्। सात मिनेटपछि नै पूर्णिमाले गोल गर्दै संकटालाई २–१ ले अगाडि बढाइन। रेनिशाले ७४औं मिनेटमा गोल गरिन्। आठ मिनेटपछि पूर्णिमाले व्यक्तिगत दोस्रो तथा संकटाका लागि चौथो गोल गरिन्। अनिशाले ८३औं मिनेटमा गोल गरिन्। यससँगै संकटा ५–१ ले अगाडि बढ्यो। इन्जुरी समयमा सेनुले गोल गरेपछि संकटाले लम्कीमाथि ६–१ को उत्कृष्ट पुनरागमन जित निकाल्यो। त्यसअघि पहिलो खेलमा आरएस रिसोर्ट एन्ड बीच फुटबल क्लबले पनि छहारी युवा क्लबविरुद्ध रोमाञ्चक जित दर्ता गर्यो। जितसँगै आरएस रिसोर्टले चार खेलबाट ९ अंक जोडेको छ।
छहारीले पहिलो पराजय बेहोरेको थियो। छहारीको समान खेलबाट सात अंक छ। च्यासल मैदानमा आरएस रिसोर्टको जितमा ईशा चौधरी, गीता श्रेष्ठ र उषा शाहीले गोल गरे। छहारीका लागि दुवै गोल अस्मिता चौधरीले फर्काइन्। खेलको २४औं मिनेटमा ईशाको गोल मार्फत आरएस रिसोर्टले अग्रता लिएको थियो। ३६औं मिनेटमा गीताले टोलीको अग्रता दोब्बर बनाइन्।
अस्मिताले ४२औं मिनेटमा छहारीका लागि पहिलो गोल गरिन्। पहिलो हाफमा आरएस रिसोर्ट २–१ ले अगाडि रह्यो । ५५औं मिनेटमा आरएस रिसोर्टकी उषाले गोल गरिन्। त्यसको एक मिनेटपछि नै अस्मिताले व्यक्तिगत दोस्रो गोल गरेपछि छहारीले खेलमा फर्कने प्रयास गर्यो तर त्यसपछि थप गोल हुन सकेन र आरएस रिसोर्टले रोमाञ्चक जित निकाल्यो।
प्रकाशित: १४ भाद्र २०८२ ०८:१५ शनिबार