मच्छिन्द्र क्लबले जारी एन्फा यु–१६ युथ लिगमा आठौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार न्युरोड टिम (एनआरटी) क्लबमाथि २–० को जित निकाल्दै मच्छिन्द्र लिगको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
मच्छिन्द्रको जितमा राहुलकुमार योन्जन र सुदीप ठकुरीले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएका हुन्। जितसँगै मच्छिन्द्रले १२ खेलबाट २६ अंक जोडेको छ। एनआरटी समान खेलबाट १२ अंकका साथ दशौं स्थानमा छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, हाफमा दुई गोल निस्कियो। खेलको ६१औं मिनेटमा राहुलको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो। फ्रिकिक प्रहारबाट आएको बललाई गोविन्द विकको सट पहिलो बारमा लागेर फर्किन पुग्यो।
सोही बल नियन्त्रणमा लिएका राहुलले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै जाली चुमाएका हुन्। त्यसपछि गोलका लागि केही अवसर सिर्जना भए। मच्छिन्द्र साँघुरो जिततर्फ अग्रसर थियो। तर, इन्जुरी समयमा सुदीपले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित पक्का गरे। लिगमा १२औं चरणका खेल सकिँदा विभागी टोली नेपाल पुलिस क्लब ३१ अंकसहित शीर्ष स्थानमा छ। मच्छिन्द्र दोस्रो, संकटा तेस्रो र फ्रेन्ड्स क्लब चौथो स्थानमा छन्।
शुक्रबार नै भएको दोस्रो खेलमा श्री भगवती क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले साँघुरो अन्तरले हरायो। तीनै गोल पहिलो हाफमा सम्भव भयो। आर्मीले अग्रता जोगाउन नसक्दा जारी लिगमा ११औं हार बेहोरेको हो। आर्मीले एक मिनेट पनि नबित्दै सृजन मल्लको गोलबाट अग्रता लियो।
श्री भगवतीका डिफेन्डरबाट सृजनले बल खोस्दै ३१ सेकेन्डमा नै गोल गरेका हुन्। तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन। सातौं मिनेटमा श्री भगवतीले फ्रिकिकमार्फत गोल फर्कायो। कप्तान अनिल परियारले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक प्रहार गर्दै बललाई जाली चुमाएका हुन्। पहिलो हाफको थप समयमा श्री भगवतीले दोस्रो गोल गर्दै अग्रता लियो।
सबिर श्रेष्ठले उपलब्ध गराएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै निशान्त थानेटले गोल गरेका हुन्। त्यसपछि पहिलो हाफमा श्री भगवती २–१ अगाडि रह्यो। तर, दोस्रो हाफमा थप गोल हुन सकेन र श्री भगवतीले १३औं खेलमा चौथो जित निकाल्यो। श्री भगवती क्लब १० अंकसहित दशौं स्थानमा उक्लिएको छ। आर्मी भने १३ खेलबाट ६ अंक जोड्दै १३औं स्थानमा यथावत् छ।
प्रकाशित: २४ श्रावण २०८२ ११:३३ शनिबार