खेल

एन्फा सहिद स्मारक महिला लिग आजदेखि हुँदै

घरेलु प्रतियोगितामा लामो समयदेखि दबदबा बनाउँदै आएको एपिएफलाई अन्य दुई विभागीयसँगै संकटा क्लबले एन्फा सहिद स्मारक महिला लिग २०८२ मा चुनौती दिने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा सहिद स्मारक महिला लिग २०८२ बुधबारदेखि ललितपुरस्थित च्यासल रंगशालामा सुरु हुँदै छ । उक्त लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लबले प्रतिस्पर्धा गर्दैछन्। घरेलु प्रतियोगितामा एपिएफ सबैभन्दा बलियो दाबेदार रहँदै आएको छ। विपक्षमाथि पूर्ण हाबी हुँदै एपिएफले घरेलु प्रतियोगिताको उपाधिमा वर्चस्व राख्दै आएको छ। यद्यपि, पछिल्ला समय एपिएफले अन्य दुई विभागीय टोलीले चुनौती दिन थालेका छन्। त्यसमा यसपल्ट संकटा पनि थपिने संकेत देखिएको छ। संकटाले चार जना विदेशी खेलाडी अनुबन्धित गर्दै उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेको छ।

प्रतियोगिताअगाडि मंगलबार भएको पत्रकार सम्मेलनमा चार टोलीका प्रशिक्षक र कप्तानले राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य देखाएका छन् । एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले टोली मानसिक र शारीरिक रूपमा तयार रहेको बताए। यद्यपि, सविता रानामगरसहित केही खेलाडी घाइते रहेको जानकारी उनले दिए तर पनि आफूहरू राम्रो फुटबल खेल्दै उपाधि जित्ने गरी खेल्न तयार रहेको उनले बताए। जहिल्यै पनि प्रतिस्पर्धात्मक विपक्षी अपेक्षा गर्ने गरेको र यसपल्ट राम्रा प्रतिद्वन्द्वी मिल्ने उनको आशा छ।

कप्तान अनिता बस्नेतले अहिले धेरै टोलीहरू बलियो हुँदै आएकाले यसपटक लिगमा प्रतिस्पर्धात्मक खेल हुने बताइन्। उनले अहिले महिला फुटबलमा पहिलेजस्तो सहज नभएको स्पष्ट पारिन् । अन्य टोलीहरूले विदेशी खेलाडी भिœयाएकाले एपिएफका लागि चुनौती हुने उनको भनाइ छ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक रविन श्रेष्ठले केही उत्कृष्ट खेलाडीलाई अनुबन्धित गरेको र तयारी पनि राम्रो भएकाले उपाधि जित्ने आशा गरेका छन् । उनले उपाधि जित्नेबाहेक विकल्प नरहेको उल्लेख गरे। मीना देउबा, सुस्मा तामाङ र बिर्सना चौधरीजस्ता केही खेलाडी टोलीमा भित्रनुले टोली बलियो बन्ने उनको आशा छ।

संकटाले पछिल्ला समय महिला फुटबलमा एकेडेमी सञ्चालन गर्दै आएको छ। यसपल्ट एकेडेमीका तीन खेलाडी समेट्दै संकटा लिग खेल्दै छ। चार विदेशी खेलाडीसहित संकटाले आफू उपाधि जित्नेका लागि खेल्ने बताएको छ। संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले उपाधि उचाल्ने या शीर्ष तीनभित्र रहेर लिग पूरा गर्ने लक्ष्य रहेको बताएका छन्।

घानाका दुई, म्यानमार र मोजाम्बिक खेलाडीलाई क्लबमा अनुबन्धित गरेको उनले उल्लेख गरे। त्रिभुवन आर्मी क्लबका प्रशिक्षक राजु तामाङले गोलस्कोरिङमा सुधार गर्दै लिगमा खेल्ने बताए। अनुभवी गोलकिपरको कमी हुने भए पनि उपलब्ध गोलकिपरले पाएको अवसरमा राम्रो गर्ने उनको आशा छ।

कप्तान सुनिता राईले पनि तयारी राम्रो भएकाले सुखद नतिजा ल्याउने बताइन्। चर्च ब्वाइज युनाइटेडकी डिफेन्डर वर्षा मगरले प्रतिस्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गरेकी छन् । चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक विक्रम महर्जनले १२ महिना तयारी गर्ने विभागविरुद्ध खेल्न सहज नहुने उल्लेख गर्दै राम्रो फुटबल प्रस्तुत गर्ने बताएका छन् । खेलाडीहरूले पनि बलियो खेल खेल्न आशा गरेको उनको भनाइ छ। बागमती युथ क्लबका म्यानजेर नीराजन कार्कीले यो लिगका लागि एक महिनादेखि तयारी गरेकाले प्रतिस्पर्धात्मक खेल खेल्ने आशा व्यक्त गरेका छन्। यसपटक लिगमा कुल ९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

लिग सुरु हुन एक दिनअघि पत्रकार सम्मेलनमा ९ टोलीमध्ये ५ टोलीका प्रशिक्षक तथा एक टोलीका व्यवस्थापक सहभागी भए । लिगको उद्घाटन खेलमा चैत ४ गते बिहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो ३ बजे झापा एफसीले त्रिभुवन आर्मीसँग खेल्ने तालिका छ। वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ। कार्यक्रममा एपिएफ एफसी, चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबका कप्तान पनि उपस्थित थिए। सहभागी सबै टोलीले उपाधिका लागि आफूहरू बलियो दाबेदार रहेको बताएका छन्। एन्फाले सुरुआतमा १० टोली सहभागी हुने उल्लेख गरेको थियो।

वालिङ नगरपालिकाले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि एन्फाले राप्ती एफसीलाई समावेश गर्ने निर्णय गरेको थियो तर अन्तिम समयमा अन्य क्लबहरूको विरोधपछि राप्तीलाई अयोग्य ठहर गर्दै लिगमा ९ टोली मात्र सहभागी गराइएको हो। एन्फाको त्यो निर्णविरुद्ध क्लब अदालत गएको छ। एन्फाले यस प्रतियोगिताको पुरस्कार रकमबारे भने जानकारी दिएको छैन। मंगलबार भएको पत्रकार सम्मेलन एन्फाका कुनै पनि पदाधिकारी सहभागी थिएनन्।  

प्रकाशित: ४ चैत्र २०८२ ०७:०८ बुधबार