अखिल नेपाल फुटबल संघ (एन्फा) फेरि विवादमा परेको छ।
बिहीबार अध्यागमन विभागले एन्फालाई विदेशी खेलाडी समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गर्यो। पत्र पठाउँदै विभागले यसबारे तुरुन्तै छानबिन हुने समेत जनाएको हो।
विभागको सो पत्र पश्चात एन्फाले हाल राजधानीमा जारी पुरुष तथा महिला राष्ट्रिय लिग अनिश्चितकालको लागि स्थगित गरेको छ। जारी प्रतियोगितामा दुवैतर्फको लिगमा क्लबहरुले विभिन्न देशका विदेशी खेलाडीलाई खेलाइरहेका छन्।
एन्फाका सिइओ ईन्द्रमान तुलाधार विदेशी खेलाडीको भिषा सम्बन्धी प्रक्रिया डेढ महिना अघि नै खेलकुद मन्त्रालय र राखेपलाई बुझाएको बताउँछन्। 'हामीले पत्र पश्चात नै दुवै तर्फका लिगहरु स्थगित गर्यौं विदेशी खेलाडीको बारेमा हामीले डेढ माहिना अघिबाट नै प्रक्रिया अघि बढाइ सकेका छौं।,' उनले भने, 'तर, मन्त्रालय र राखेपलले स्वीकृत गरेको छैन।'
पुरुषतर्फको लिग गत पुस ३० गतेबाट सुरु भएको हो भने महिलातर्फको लिग चैत्र ४ गतेबाट सुरु भएको हो।
प्रकाशित: ६ चैत्र २०८२ १२:०५ शुक्रबार