खेल

एन्फाका केन्द्रीय सदस्य धिमालको नि*धन

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्वफुटबल खेलाडी दीपेन्द्र धिमाल (डाइभर) को निधन भएको छ।

उर्लाबारी नगरपालिका–६ का ५९ वर्षीय धिमालको उपचारका क्रममा बिहीबार (आज) बिहान निधन भएको पारिवारिक स्रोत जनाएको छ। धिमाल लामो समयदेखि प्यांकृृयाज लगायत स्वास्थ्य समस्याबाट पीडित थिए। उनी केही समयअघि भारतको हैदरवादमा उपचार गराएर घर फर्किएका थिए। पारिवारिक स्रोतका अनुसार थप उपचार (फ्लोअप)का लागि आइतबार पुनः भारत जान लागेका थिए।

तर, बुधबार साँझ पख स्वास्थ्यमा समस्या आएपछि स्थानीय अरनिको अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनको सुगर लेबल घटेको, ज्वरो र वान्ता आउने समस्या भएको थियो। उपचारकै क्रममा आज बिहान ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको परिवारका सदस्यले जनाएको छन्।  

उनका श्रीमती, एक छोरा र एक छोरी छन्। छोरी विदेशमा रहेकाले उनी आएपछि मात्रै दाहसंस्कार गर्ने परिवारले जनाएको छ।  

मोफसल क्षेत्रको फुटबल खेलको विकासमा विशेष योगदान पुर्याएका थिए। उनको नाम दीपेन्द्र रहे पनि उनको खेल कौशलबाट उपनाम राखिएको थियो। गाडीलाई जसरी चालक (डाइभर)ले चलाउँछ, त्यसरी नै फुटबललाई मैदानमा लैजान सक्ने कला भएकाले उनलाई सबैले ‘डाइभर’ उपनामले बलाउने गर्थे।  

धिमाल राष्ट्रिय टोलीबाट नखेले पनि उनी नेपालका चर्चित क्लब जनकपुर चुरोट कारखाना (जचुकाली), थ्रीस्टार र स्थानीय क्लबहरुबाट खेलेका थिए। उनले भारतको पश्चिम बंगाल लिग त्यहीँका क्लबहरुबाट खेलेका थिए।  

मोफसलको फुटबलको विकासमा विशेष योगदान गरेका धिमाल उर्लाबारी फुटबल क्लबको अध्यक्ष हुँदै मोरङ जिल्ला फुटबल संघको सदस्य, दुई कार्यालय महासचिव, ३ कार्यकाल अध्यक्ष हुँदै एन्फाको केन्द्रीय सदस्य भएका थिए। धिमालको निधनले स्थानीय फुटबल क्षेत्र तथा खेलप्रेमीहरूमा शोक छाएको छ।

प्रकाशित: ८ आश्विन २०८३ १०:०८ बिहीबार