स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले कीर्तिमानी तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनको सफलतासँगै महिला बालोन डी’ओरमा स्पेनिस खेलाडीको वर्चस्व लगातार छैटौँ वर्ष पनि कायम रहेको छ।
३२ वर्षीया पुटेलासले सन् २०२५-२६ को सिजन बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्ल्यान्डको महिला सुपर लिग क्लब लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्।
पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा महिला बालोन डी’ओर जितेकी थिइन्। पछिल्लोपटक लगातार तीन वर्ष सन् २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी उनकी पूर्वबार्सिलोना सहकर्मी एइताना बोनमतीसँगै पुटेलासले तीनपटक अवार्ड जित्ने कीर्तिमान बराबरी गरेकी छन्।
पछिल्ला छ संस्करणमा स्पेनका पुटेलास र बोनमतीले नै महिला बालोन डी’ओर जितेका छन्। सन् २०१८ मा नर्वेकी आदा हेगरबर्ग र सन् २०१९ मा अमेरिकाकी मेगन रापिनोले यो अवार्ड जितेका थिए। त्यसयता स्पेनिस खेलाडीले लगातार अवार्ड जित्दै आएका छन्।
पुटेलासको पछिल्लो सफलता सन् २०२२ मा गम्भीर घुँडाको चोटका कारण करिअरमै चुनौती सामना गर्नुपरेपछि विश्व फुटबलको शीर्ष स्तरमा फर्किएको उल्लेखनीय उपलब्धिसमेत हो।
अवार्ड जितेपछि पुटेलासले फुटबल खेल्न चाहने बालबालिकालाई आफ्नो सपना पूरा गर्न प्रेरित गरिन्। उनले फुटबल खेल्न महिला वा पुरुष हुनु, कहाँबाट आएको हुनु वा अरूले के भन्छन् भन्ने कुराले फरक नपर्ने बताइन्।
अन्तर्राष्ट्रिय पत्रकारहरूको निर्णायक मण्डलबाट सबैभन्दा बढी मत प्राप्त गरेकी पुटेलास पहिलो स्थानमा रहिन्। बार्सिलोनाकी फरवार्ड एवा पायोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खादिजा श तेस्रो स्थानमा रहे।
प्रकाशित: १० कार्तिक २०८३ ०७:३६ मंगलबार