थाइल्यान्डका फर्मुला-१ चालक एलेक्स अल्बोनले २०२७ सिजनमा पनि विलियम्समै रहने निर्णय गरेका छन्। अल्बोन र विलियम्सले नयाँ सिजनका लागि सहकार्यलाई निरन्तरता दिने सहमति गरेका हुन्।
विलियम्सले २०२५ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै कन्स्ट्रक्टर्स च्याम्पियनसिपमा पाँचौँ स्थान हासिल गरेको थियो। तर २०२६ मा टोलीको प्रदर्शन अपेक्षाअनुसार रहन सकेन। सिजनको सुरुवातमा कार तौल बढी र विकासमा पछाडि परेपछि विलियम्स अधिकांश समय मिडफिल्डमा संघर्षरत रह्यो।
हाल ११ टोलीमध्ये विलियम्स नवौँ स्थानमा छ। कमजोर प्रदर्शनका कारण अल्बोन र उनका सहचालक कार्लोस सेन्ज दुवैले आफ्नो भविष्यबारे विचार गरिरहेका थिए। दुवैसँग बहुवर्षीय सम्झौता रहे पनि सम्झौतामा सिजनको अन्त्यमा टोली छाड्न सक्ने प्रावधान रहेको बताइएको थियो। तर विलियम्सले अल्बोनलाई निरन्तरता दिन विशेष चासो देखाएको थियो।
टोली प्रमुख जेम्स भाउल्सले अल्बोनलाई ग्रिडका उत्कृष्ट चालकहरूमध्ये एक मान्दै आएका छन्। सन् २०२२ मा विलियम्समा आबद्ध भएका अल्बोनले टोलीका लागि सबैभन्दा धेरै रेस सुरु गर्ने चालकको कीर्तिमानसमेत बनाइसकेका छन्।
कमजोर कारका बाबजुद आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने अल्बोनलाई विश्वास गर्दै विलियम्सले आगामी सिजनमा सुधारसहित पुनः प्रतिस्पर्धात्मक बन्ने लक्ष्य राखेको छ।
प्रकाशित: ३ भाद्र २०८३ १२:१२ बुधबार