स्पेनिस ला लिगाको नयाँ सिजनमा आलाभेस र सेभियाले विजयी सुरुवात गरेका छन्। आलाभेसले गेटाफेलाई ३–० गोलले हराउँदा सेभियाले रायो भाल्कानोलाई २–१ गोलले पराजित गरेको हो।
आलाभेसको जितमा नाहुएल टेनाग्लिया, मारियानो डियाज र मिकल रोड्रिगेजले गोल गरे। टेनाग्लियाले ७३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएपछि मारियानोले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे। मिकल रोड्रिगेजले त्यसको केही मिनेटमै तेस्रो गोल थपे। पहिलो हाफको अन्त्यतिर किको फेमेनियाले रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो।
त्यस्तै अर्को खेलमा सेभियाले भने सुरुवाती गोल खाएपछि पुनरागमन गर्यो। अल्भारो गार्सियाले चौथो मिनेटमै रायोलाई अग्रता दिलाएका थिए। तर जोन गुरिडीले ५२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे। खेलको अन्तिम क्षणमा पेक्वे फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै सेभियालाई तीन अंक दिलाए।
आज आइतबार पनि ला लिगामा दुई खेल हुनेछन्। आजको पहिलो खेलमा रासिङ सान्टान्डर र भिल्लारियल भिड्ने छन्। १४ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको रासिङ घरेलु मैदानमा अघिल्लो सिजन तेस्रो स्थानमा रहेको भिल्लारियललाइ पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा रहेको छ। खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।
त्यसपछि, आजै हुने दोस्रो खेलमा एस्पान्योल र लेभान्ते भिड्नेछन्। दुवै टोली सिजनको पहिलो खेलबाटै अंक जोड्ने लक्ष्यमा हुनेछन्।
प्रकाशित: ३१ श्रावण २०८३ ०६:५६ आइतबार