खेल

अक्षरा र ग्यालेक्सी पब्लिक अन्तिम चारमा

अक्षरा र ग्यालेक्सी पब्लिक स्कुलले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी टेन क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा स्थान बनाएका छन्।

कागेश्वरी मनोहरा नगरपालिकाको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा भएको प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। शतप्रतिशत जित निकालेको अक्षरा ६ अंकका साथ समूहविजेता भयो। दुई खेलमा जित र एकमा हार व्यहोरेको ग्यालेक्सी चार अंकसहित समूह उपविजेता बन्यो।

अक्षराले ग्यालेक्सीलाई ४७ रन, आयोजक मातृभूमि स्कुललाई २५ रन र सहारा राष्ट्रिय विद्यालयलाई ९ विकेटले पराजित गर्‍यो। ग्यालेक्सीले मातृभूमिलाई ९ विकेट तथा सहारालाई ३८ रनले हरायो। सान्त्वना जित हात पारेको मातृभूमिले सहारालाई ४३ रनले पाखा लगायो। शुक्रबार समूह ‘ए’ का सबै लिग खेल हुनेछन्।

त्यस दिन विनायक र जनप्रेमी, ग्लोबल र जनप्रेमी, विनायक र ग्लोबल, जनप्रेमी र जेम्स, जेम्स र ग्लोबल तथा जेम्स र विनायकबिच खेल समाप्तिसंगै सेमिफाइनल समीकरण तयार हुनेछ। प्रतियोगितामा ८ छात्र टोली सहभागी छन्।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको अन्तिम दिन शनिबार सेमिफाइनल र फाइनल हुनेछन्।

प्रकाशित: १५ फाल्गुन २०८२ ०८:५८ शुक्रबार