खेल

आहा ! रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको उपहार गोलको उद्दतमा जावलाखेल फाइनलमा

जावलाखेल युथ क्लव १४ वर्षपछि आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा जावलाखेल उपहार गोलको मद्दतमा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । १४ वर्षपछि फाइनल पुगेको जावलाखेलले अब उपाधिका लागि आयोजक सहारा क्लब पोखरासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।  

पाहुना टोली आभा एफसी उज्वेकिस्तानसँगको प्रतिस्पर्धात्मक खेलमा जावलाखेल भाग्यमानी ठहरियो । गोलको खडेरी परिरहेका बेला जावलाखेलले ५२ औं मिनेटमा उपहार गोल पाएको थियो । विपक्षी टिममाथि दबाब बढाउने क्रममा जावलाखेलका धर्बेन्द्र कुँवरले बायाँसाईडबाट क्रस गरेको बललाई उज्वेकिस्तानका कुसान गानीजानोभले आत्मघाती गोलको उपहार दिएका थिए । विपक्षी खेलाडीसमेत नभएको समयमा गानीजानोभले बल क्लियर गर्न खोज्दा बलले सिधै जाली चुम्न पुगेको थियो ।  

उपहार गोलमार्फत अग्रता बनाएको जावलाखेल ६० औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । सार्दाेबेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। १० खेलाडीमा सीमित भएपनि उज्वेकिस्तानले जावलाखेलको अग्रता तोड्न सकेन र सेमिफाइनलमै रोकिन बाध्य भयो ।  

आभा एफसी उज्वेकिस्तानको टोली विहीबारको खेलमा अभागी ठहरियो । तुलनात्मक रुपमा कमजोर खेल प्रस्तुत गरेको सो टोलीले गरेको दुई वटा प्रहार गोलपोष्टमा लागेर फर्किनु नै उसका लागि दुर्भाग्य सिद्द भयो । काउन्टर अट्याकमार्फत् गोल गर्ने रणनीति बनाएको उज्वेकिस्तानी टोलीले १० औं मिनेटमै गोल गर्ने अवसर सिर्जना गरेको थियो । टोलीका लागि उमिडजोन करिलोभले गरेको प्रहार फष्र्टबारमा लागेर रिवाउण्डहुँदा अग्रता बनाउनबाट चुक्यो । त्यस्तै, ४२ औं मिनेटमा करिलोभले नै गरेको लामो शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा दोस्रो पटक अग्रता बनाउनबाट उज्वेकिस्तानी टोली चुक्यो । ९० औं मिनेटमा बाबिरस्व सभिरोभले गरेको कडा प्रहारमा पनि जावलाखेलका गोलकिपर बाधक बने । उनले पञ्च गरेर जावलाखेलको अग्रता जोगाए ।

जितसँगै जावलाखेल १४ वर्षपछि उपाधि नजिक पुगेको छ । २०६८ सालमा फाइनल यात्रा तय गरे पनि उपाधिबाट भने जावलाखेल बञ्चित भएको थियो । त्यसबेला फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग जावलाखेल १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।  

विहीबारको खेलमा जावलाखेलका विदेशी खेलाडी जोखिडजोन राखिमोभ प्लयेर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित: ७ फाल्गुन २०८२ १९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App