रोमाञ्चक खेलमा अफगानिस्तानले आयरल्यान्डलाई पराजित गर्दै सन् २०२७ मा दक्षिण अफ्रिकामा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। अफगानिस्तानको जितमा विश्वस्तरीय खेलाडी राशिद खानले ब्याटिङ र बलिङ दुवैमा महत्वपूर्ण योगदान दिए।
२०६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान एक समय १७६ रनमा ७ विकेट गुमाएर दबाबमा परेको थियो।आयरल्यान्ड जित तर्फ अग्रसर रहेको बेला राशिद खानले संयमित ब्याटिङ गर्दै ३७ रनको पारी खेले। उनको यही पारी अफगानिस्तानलाई लक्ष्यसम्म पुर्याउन सफल भयो। यसअघि बलिङमा पनि राशिदले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ४४ रन खर्चेर ३ विकेट लिए।
अफगानिस्तान एक समय ९७ रनमा २ विकेटको अवस्थामा सहज देखिएको थियो। तर आयरल्यान्डका लेग स्पिनर गाभिन होइले उत्कृष्ट बलिङ गर्दै खेलको अवस्था नै परिवर्तन गरिदिएका थिए। होइले ३४ रन खर्चेर ४ विकेट लिए। उनले अफगानिस्तानका प्रारम्भिक ब्याटर रहमानुल्लाह गुरबाजलाई ७१ रनमा आउट गरे।
आयरल्यान्डले पहिलो पारीमा २०६ रन बनाउन पनि निकै संघर्ष गर्नुपरेको थियो। एक समय १२८ रनमा ८ विकेट गुमाइसकेको आयरल्यान्डका लागि जाइ मुन्द्रा र गाभिन होइले नवौँ विकेटका लागि ७६ रनको कीर्तिमानी साझेदारी गरे। होइले ३६ रन बनाए भने मुन्द्राले ३१ रनको आक्रामक पारी खेले। यस जितसँगै अफगानिस्तान लगातार चौथोपटक एकदिवसीय विश्वकपमा छनोट भएको छ।
प्रकाशित: २६ श्रावण २०८३ ०७:२३ मंगलबार



