इंग्ल्यान्डको चर्चित फुटबल क्लब चेल्सीलाई फुटबल संघले १० मिलियन पाउन्ड जरिवाना गरेको छ।
क्लबले विगतमा भएका ७४ वटा नियम उल्लंघन स्वीकार गरेपछि फुटबल संघले यस्तो कारबाही गरेको हो। चेल्सीमाथि दुई स्थानान्तरण सत्रमा नयाँ खेलाडी दर्ता गर्न नपाउने प्रतिबन्धसमेत लगाइएको छ। तर यो प्रतिबन्ध तत्काल लागू हुने छैन। हालका लागि प्रतिबन्ध स्थगित अवस्थामा राखिएको छ।
चेल्सीका लागि राहतको विषय भनेको सम्भावित ६ अंक कटौतीको सजाय हट्नु हो। पुनरावेदनपछि क्लबले अंक गुमाउने जोखिमबाट राहत पाएको छ।
फुटबल संघका अनुसार चेल्सीका पुराना नियम उल्लंघनहरू मुख्य रूपमा खेलाडीका प्रतिनिधिलाई गरिएको भुक्तानी, बिचौलियासँगको कारोबार र खेलाडीमा तेस्रो पक्षको लगानीसँग सम्बन्धित छन्।
सन् २०२२ मा नयाँ स्वामित्व आएपछि क्लबले पुराना कारोबारमा देखिएका सम्भावित अनियमितताबारे सम्बन्धित निकायलाई जानकारी गराएको थियो। अनुसन्धानका क्रममा चेल्सीले ठूलो मात्रामा कागजात उपलब्ध गराउँदै सहयोग गरेको थियो।
अहिलेका लागि चेल्सीले नयाँ खेलाडी भित्र्याउन र दर्ता गर्न सक्छ। तर स्थगित प्रतिबन्ध सक्रिय भएमा क्लबले लगातार दुई स्थानान्तरण सत्रमा नयाँ खेलाडी दर्ता गर्न नपाउने अवस्था आउन सक्छ।
प्रकाशित: १६ श्रावण २०८३ १३:११ शनिबार



