मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ।
वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले ५८ बलमा ५ चौकाको सहयोगमा नटआउट ३६ रन बनाउँदा रोहितले १४ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए।
त्यसअघि आसिफ शेखले १८ र देव खनालले १९ रन जोड्दा इशान पाण्डे १ रनमा रनआउट भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। बराइनलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएका थिए।
सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै, ललित राजवंशीले तीन र करण केसीले दुई विकेट लिए।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाउँदा मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे।
नेपालले अब अर्को खेलमा बिहीबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १५ भाद्र २०८३ १२:०९ सोमबार