बाढी पहिरोले देशमा जनधनको क्षति भइरहेका बेला नेपाली क्रिकेट टोलीले एसिसी मेन्स प्रिमियर कपको पहिलो जित सम्पूर्ण बाढीपीडित नागरिकमा समर्पित गरेको छ।
५० ओभरको प्रिमियर कपको पहिलो खेलमा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रेरित नेपालले बहराइनलाई सात विकेटले हरायो। मलेसियाको बाङ्गीमा सुरु भएको प्रतियोगितामा नेपालका स्पिनरको उत्कृष्ट प्रदर्शन नै जितको आधार बन्यो। स्पिनरद्वय सन्दीप र ललितनारायण राजवंशीको जोडीले कुल आठ विकेट लियो।
भोटेकोशीमा गएको बाढीले हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने साढे चार हजारभन्दा बढी बेपत्ता छन्। जितपछि नेपाली टोलीले कठिन परिस्थितिबाट गुज्रिरहेका नेपाली जनतामा जित समर्पित गरेको हो। एसिया कप छनोटको माध्यम रहेको प्रिमियर कपमा १० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। प्रिमियर कप विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
समूह ‘ए’ को नेपालले उत्कृष्ट बलिङ गर्यो। ब्याटिङमा भने लय देखाउन सकेन। कप्तान सन्दीपले पाँच विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। त्यही प्रदर्शन जितको आधार पनि बन्यो। बहराइनले ८८ रनको लक्ष्य दियो। तर, नेपालले त्यो लक्ष्य भेट्टाउन २१ ओभरमा तीन विकेट गुमायो। ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहे। उनले ५८ बल खेलेर तीन चौका प्रहार गरे।
अर्का ओपनर आसिफ शेख १८ र देव खनाल १० रनमा आउट भए। ईशान पाण्डे १ रनआउट हुन पुगे। आसिफ शेख र अर्जुनले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे। लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका देवले पनि प्रभाव जमाउन सकेनन्। बहराइनको बलिङमा इमरान जाबेद अनवरले दुई विकेट लिए।
जितपछि कप्तान सन्दीपले सामाजिक सञ्जालमार्फत नेपालको जित देशमा पछिल्लो समय आएको बाढी पहिरोबाट प्रभावित नेपाली जनताप्रति समर्पित गरे। जितले कठिन समयबाट गुज्रिएका नेपालीको अनुहारमा केही भए पनि खुसी, शक्ति र मुस्कान ल्याउने उनको आशा छ।
‘यो जित मेरो सुन्दर देशका जनताका लागि हो। जय नेपाल,’ कप्तान सन्दीपले लेखेका छन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु सुरुदेखि नै दबाबमा पर्यो। नेपालका कप्तान सन्दीपले नियमित अन्तरालमा विकेट लिँदै बहराइनको इनिङ धराशयी बनाए। उनको बलिङका कारण बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो। फिआज अहमेदले १५ बलमा १५ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो।
मोहम्मद वासिमले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिङमा कप्तान सन्दीपले १० ओभरमा चार मेडन राख्दै १४ रन मात्र दिए। उनी प्लेअर अफ दी म्याच पनि भए। ललितले तीन विकेट लिए। ६.२ ओभरमा उनले एक मेडनसहित २० रन मात्र दिए। करण केसीको नाममा दुई विकेट रह्यो। दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र गुलसनकुमार झाले भने विकेट लिन सकेनन्। एसिया कपमा छनोट हुने नेपालको लक्ष्यले पनि बलियो सुरुआत पाएको छ। यसअघि सन् २०२३ मा पहिलोपल्ट नेपालले एसिया कप खेलेको थियो। यसपल्ट त्यो सफलता दोहोर्याउने लक्ष्यमा नेपाली टोली छ।
प्रतियोगितामा १० टोली सहभागी छन्। नेपालको समूहमा आयोजक मलेसिया, हङकङ, बहराइन र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। नेपालले अब दोस्रो खेल आयोजक मलेसियासँग भदौ १८ गते खेल्नेछ। त्यसपछि भदौ २१ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ भने समूहचरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।
समूहको शीर्ष दुई स्थानमा रहने टोलीले भदौ २५ गते सेमिफाइनल खेल्नेछन्। भदौ २७ गते फाइनल हुनेछ। विजेताले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।
प्रकाशित: १६ भाद्र २०८३ ०८:३५ मंगलबार