नेपाली टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन्। नोभेम्बर २३ देखि २८ सम्म सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुने प्रतियोगितामा उनले पुरुष एकलतर्फ प्रतिस्पर्धा गर्नेछन्।
अस्ट्रेलियन ओपनको छनोट चरणमा वाइल्डकार्ड पाउने बस्तोला पहिलो नेपाली खेलाडी हुन्। छनोट चरणमा आठ खेलाडी सहभागी हुँदैछन्। तीमध्ये चार खेलाडीले वरीयताका आधारमा र चार जनाले वाइल्डकार्डमार्फत स्थान बनाएका छन्। छनोटबाट चार खेलाडी १६ जनाको मुख्य प्लेअफमा प्रवेश गर्नेछन्। मुख्य प्लेअफको विजेताले आगामी जनवरीमा मेलबर्नमा हुने अस्ट्रेलियन ओपनको पुरुष एकल मुख्य ड्रमा स्थान बनाउनेछ।
पोखरामा आठ वर्षको उमेरदेखि टेनिस खेल्न थालेका बस्तोलाले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। सन् २०१२ मा प्रशिक्षण र छात्रवृत्तिको अवसर खोज्दै थाइल्यान्ड पुगेका उनले त्यहाँको प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै छात्रवृत्ति प्राप्त गरेका थिए।
त्यसपछि उनले अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) का जुनियर प्रतियोगितामा सहभागिता जनाउँदै विश्व जुनियर वरीयतामा करिब ७७०औँ स्थानसम्मको यात्रा तय गरे। सन् २०१३ मा चीनको नान्जिङमा आयोजित एसियाली युवा खेलकुदमा टेनिसतर्फ नेपालको प्रतिनिधित्व गर्ने पहिलो पुरुष खेलाडी बनेका उनी चार संस्करणका एसियाली खेलकुदमा सहभागी हुने पहिलो नेपाली टेनिस खेलाडीसमेत हुन्।
सन् २०२३ मा आईटीएफ विश्व वरीयतामा प्रवेश गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका बस्तोलाको नाममा डेभिस कपमा नेपाली खेलाडीले हासिल गरेको सर्वाधिक सात एकल जितको कीर्तिमान छ।
उनले अमेरिकी विश्वविद्यालयको एनसीएए डिभिजन–१ मा टेनिस खेल्ने पहिलो नेपाली खेलाडीको इतिहाससमेत बनाएका छन्। अब उनको लक्ष्य चीनमा हुने प्लेअफ जित्दै ग्रान्डस्लामको मुख्य प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नु हो।
छेङ्दुको प्रतियोगिता बस्तोलाका लागि ग्रान्डस्लामको मुख्य ड्रमा पुग्ने महत्वपूर्ण अवसर बनेको छ।
प्रकाशित: ६ मंसिर २०८३ १८:१९ आइतबार



