इजिप्टका फरवार्ड हम्जा अब्देलकरिम १८ वर्षका भए र यस पिफा विश्वकपमा सहभागी सबैभन्दा कम उमेरका खेलाडीमध्ये पनि एक हुन्।
सानो उमेरका भए पनि उनी फुटबलको सबैभन्दा ठूलो मञ्चमा अनुभवी व्यावसायिक खेलाडीजस्तै आत्मविश्वासका साथ प्रस्तुत भइरहेका छन्। ६ फिट अग्ला अब्देलकरिम विश्वकपका टोलीहरूमा रहेका २२ किशोर खेलाडीमध्ये एक हुन्। उनी विश्वकपमा आफ्नो देशका लागि खेल्ने सबैभन्दा कान्छा इजिप्टका खेलाडी पनि बनिसकेका छन्। इजिप्टका स्टार मोहम्मद सालाहको उत्तराधिकारीका रूपमा अब्देलकरिमलाई हेरिने गरिएको छ।
इजिप्टका सबैभन्दा चर्चित खेलाडी सालाहा ३४ वर्ष पुगे। अब्देलकरिमले विश्वकपमा आफ्नो पहिलो खेलमा बेल्जियमविरुद्ध नै खेल्ने अवसर पनि पाए। ७६औं मिनेटमा सालाहको स्थानमा उनी मैदान प्रवेश गरेका हुन्।
अब्देलकरिममा संयम र आत्मविश्वास देखिन्छ। यसले उनलाई विशेष बनाएको छ। बेल्जियमसँग १–१ को बराबरीपछि उनले टेलिभिजन क्यामेरासामु टोलीको प्रतिनिधित्व गर्दै निर्धक्क अभिव्यक्ति दिए। ‘सम्पूर्ण टोली तीन अंक चाहन्थ्यो। अन्ततः हामीले एक अंक प्राप्त गर्यौं। हामीले आफ्नो सम्पूर्ण प्रयास गर्यौं। यहाँ आएका समर्थकहरूलाई पनि धन्यवाद दिन चाहन्छौं। मैदानको माहोल उत्कृष्ट थियो र अब हाम्रो ध्यान आगामी खेलमा केन्द्रित छ,’ उनले भने।
इजिप्टले आइतबार भ्यानकुभरमा न्युजिल्यान्डसँग खेल्दै छ। दुवै टोली विश्वकप इतिहासकै पहिलो जितको खोजीमा छन्। आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले इरानसँग २–२ को बराबरी खेलेको थियो। पहिलो खेलपछि समूह ‘जी’ का सबै टोलीको समान अंकमा छ।
मे महिनामा प्रारम्भिक विश्वकप टोलीमा छनोट हुँदा अब्देलकरिमले इजिप्टको सिनियर राष्ट्रिय टोलीबाट कुनै खेल खेलेका थिएनन्। त्यसै महिनामा उनले रूसविरुद्धको विश्वकप अभ्यास खेलमा ८६औं मिनेटमा मैदान प्रवेश गर्दै इजिप्टबाट डेब्यु गरेका थिए। १७ वर्षको उमेरमा डेब्यु गर्दै अब्देलकरिमले इजिप्टको शीर्ष डिभिजन क्लब अल अहलीका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन्। यस वर्षको सुरुआतमै उनी अल अहलीबाट स्पेनिस क्लब बार्सिलोनामा लोन सम्झौतामा गए। मार्चमा बार्सिलोनाको युवा टोलीका लागि पनि उनले डेब्यु गरे। बार्सिलोनाले निकट भविष्यमा उनको सम्झौता स्थायी बनाउने अपेक्षा गरिएको छ। तीव्र सफलतालाई थप विशेष बनाउँदै उनले हालै खेलसामग्री निर्माता नाइकसँग प्रायोजन सम्झौता पनि गरेका छन्।
यद्यपि इजिप्ट अझै पनि सालाहमाथि धेरै निर्भर देखिन्छ। लिभरपुलका सालाह चार पटक इङ्लिस प्रिमियर लिगमा गोल्डेन बुट विजेता हुन्। विश्वकप छनोटका ६ खेलमा उनले ९ गोल र तीन असिस्ट गरेका थिए। इजिप्टको टोलीमा २७ वर्षे ओमार मार्मौस पनि छन्। उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट खेल्छन्। केही स्टारको साथमा इजिप्टका प्रशिक्षक होसम हसन भविष्यतर्फ पनि उतिकै आशावादी देखिन्छन्। ‘सबैभन्दा महत्त्वपूर्ण इजिप्टेली समर्थक र विश्वले इजिप्टको प्रदर्शनप्रति सम्मान महसुस गराउनु हो। उनीहरूले ओमर र सालाहजस्ता स्टार मात्र नभई हाम्रो टोलीकै फुटबल पनि देख्नुपर्छ। कुनै एक खेलाडीमा निर्भर छैनौं। बरु संगठित र सामूहिक रूपमा खेल्छौं,’ उनले भने।
यस विश्वकपका सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिलबर्टो मोर हुन्। सहआयोजक मेक्सिकोका किशोर गिलबर्टो उमेर १७ वर्षका भए। विश्वकपमा रहेका अन्य चर्चित किशोर खेलाडीमा स्पेनका लामिन यामल र सेनेगलका इब्राहिम एमबाय (दुवै १८ वर्ष) तथा ब्राजिलका एन्ड्रिक (१९ वर्ष) समावेश छन्।
प्रकाशित: ८ असार २०८३ ०८:४२ सोमबार



