खेल

क्लब च्याम्पियनसिपसँगै साफमा नयाँ अध्याय: छोटो तयारीबाट उपाधि जित्ने एपिएफको विश्वास

अधिकांश राष्ट्रिय टोलीका सदस्य सम्मिलित एपिएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्य राखेको छ।

नेपाली राष्ट्रिय महिला टोली इन्डोनेसियामा सम्पन्न तीन देशीय मैत्रीपूर्ण खेलमा व्यस्त थियो। अधिकांश खेलाडी राष्ट्रिय टोलीमा रहेकाले एपिएफले पहिलोपल्ट हुन लागेको क्लब च्याम्पियनसिपको तयारी गर्न पाएन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारदेखि आगामी पुस ५ गतेसम्म क्लब च्याम्पियनसिप हुँदै छ। तर, छोटो समयको तयारीमा नै क्लबले उपाधि जित्ने लक्ष्य राखेको छ।

एपिएफले आफ्ना महत्त्वपूर्ण खेलाडी साबित्रा भण्डारी ‘साम्बा’, प्रीति राई, साबिता रानामगर र गीता रानालाई गुमाउनेछ। साम्बा र प्रीति व्यावसायिक लिग खेल्न देश बाहिर छन्। साबिता र गीता भने चोटमा छन्। यी सबै राष्ट्रिय टोलीका खेलाडी नहुँदा एपिएफका लागि सहज हुने छैन।

एपिएफले उनीहरूको अनुपस्थितमा नेपाल पुलिस क्लबका पूजा राना र मिना देउवालाई भित्र्याएको थियो। तर, पूजाले पनि नखेल्ने भएकी छन्। मिनाले भने खेल्ने क्लबले जनाएको छ। तर, टिममा उपलब्ध खेलाडीबाट पनि छोटो समयको तयारीमा उपाधि जित्ने एपिएफको महत्त्वाकाङ्क्षा छ। एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि टिममा उपलब्ध खेलाडीहरूको सही सदुपयोग गर्ने आशा व्यक्त गरेका छन्। ‘हामीसँग जुन खेलाडी छन्। तिनैबाट उपाधि जित्छौँ,’ उनले भने, ‘गत वर्ष पनि यही टोलीले घरेलु लिगको उपाधि जितेको हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको झन्डा फहराउने सुनौलो अवसर पाएका छौँ। मानसिक रूपमा पनि हामी पूर्ण तयार छौँ।’

एपिएफकी कप्तान अनिता बस्नेतले पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्। प्रतियोगिता अगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान अनिताले तयारी पूरा भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी हुन्। ‘यो प्रतियोगिता खेल्न उत्साहित छौँ। टिम ट्रेनिङ राम्रोसँग गर्न पाएका छैनौँ। तर, पनि राम्रो नतिजा ल्याउने विश्वास छ,’ अनिता भनिन्। दक्षिण एसियाली फुटबलको स्तर वृद्धि गर्ने उद्देश्यले साफले यो अवधारणा ल्याएको हो। पुरुषको पनि क्लब च्याम्पियनसिप सुरु गर्ने योजनामा साफ रहेको छ।

महिलातर्फ पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लब, भारतको इस्ट बंगाल एफसी, बाङ्ग्लादेशको नासरिन स्पोर्टस एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दैछन्। क्लब च्याम्पियनसिपको सुरुआतपछि दक्षिण एसियाली फुटबलमा नयाँ अध्याय थपिनेछ। ‘पहिलोपल्ट साफ क्लब च्याम्पियनसिप नेपालमै हुँदै छ, हामी एकदमै उत्साहित छौँ। राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट राम्रोसँग ट्रेनिङ गर्न पाएनौँ। तर हामी पूर्ण रूपमा तयार छौँ। सबै एकजुट भएर खेले हामी राम्रो नतिजा मात्र होइन, उपाधि नै जित्न सक्छौँ,’उनले भनिन्। 

एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले पनि टिम ट्रेनिङ राम्रोसँग गर्न नपाएको उल्लेख गरे। यद्यपि, आफ्नो टोलीले सुखद नतिजा ल्याउनेमा उनी विश्वास छन्। बिहीबारको पत्रकार सम्मेलनमा भारतीय टोली बाहेक सबैले सुखद प्रदर्शन गर्ने आशा व्यक्त गरे। भारतीय टोली भने फ्लाइट ढिला भएकाले आउन सकेन। भुटानको ट्रान्सपोर्ट युनाइटेडका प्रशिक्षक यशी वाङ्चुक र कप्तान सुनिता राईले घरेलु लिगमा दोस्रो भएको र ९९ प्रतिशत खेलाडी राष्ट्रिय टिममा रहेको उल्लेख गरेको छ। तयारीमा पनि राम्रो भएकाले सुखद नतिजा ल्याउने ट्रान्सपोर्टको विश्वास छ। पाकिस्तानको कराची सिटी एफसीका प्रशिक्षक अदिल रिज्की र कप्तान मारिया खानले पनि आफ्नो क्लब नयाँ रहे पनि सुखद प्रदर्शन गर्ने उल्लेख गरेका छन्। 

दशरथ रंगशालामा खेल्न निकै उत्साहित पनि रहेको कराचीले बताएको छ। नासरिन स्पोर्टस एकेडेमीका प्रशिक्षक मोनिर हुसेन र कप्तान साजिदा अक्तेरले नेपाली भूमिमा दुई पल्ट महिला टोलीले उपाधि जितेकाले केही दबाब रहेको उल्लेख गरेको छ। साथै टोलीमा अधिकांश युवा खेलाडी रहेकोले क्लबले जनाएको छ। प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ। पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्। सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ।

यस प्रतियोगिताको टिकट साधारण पारापिटतर्फ तीन सय र भिआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालिलाई ५१ लाख ५० हजार रुपैयाँमा बेचेको थियो। साफले त्यो रकमबाट आयोजकका रूपमा एन्फालाई ७० प्रतिशत रकम प्रदान गरेको छ। बाँकी ३० प्रतिशत रकम पुरस्कारमा खर्च हुने भएको छ। यो रकम नेपाली फुटबलकै लागि खर्च हुनेछ।

प्रकाशित: १८ मंसिर २०८२ १४:५० बिहीबार