खेल

सुदूरपश्चिम र लुम्बिनीको सुखद सुरुआत

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

बलिङमा उत्कृष्ट प्रदर्शनको प्रेरणामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।  

जनकपुरमा सोमबार भएको खेलमा लुम्बिनीले कोसी प्रदेशमाथि एक सय ४८ रन र सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि चार विकेटको जित निकाल्दा बलिङमा उत्कृष्ट प्रदर्शनको साथ रह्यो। सुदूरपश्चिमको पहिलो खेल हो भने लुम्बिनी, कर्णाली र कोसीले दोस्रो खेल खेलेका हुन्। लुम्बिनी र कर्णाली तथा कोसी र मधेस प्रदेशबीचका खेल वर्षाका कारण प्रभावित भएका थिए। आफ्नो दोस्रो खेलमा बलिङमा उत्कृष्ट साथ पाएपछि लुम्बिनीले जित निकाल्दा कर्णाली र कोसी असफल भए। लुम्बिनीको जितमा सन्तोष यादवले अलराउन्ड प्रदर्शन गरे। सुदूरपश्चिमको जितमा पनि तीव्र गतिका बलर हेमन्त धामीको प्रदर्शन महŒवपूर्ण साबित भयो।

हेमन्तको ६ विकेट प्रेरणामा सुदूरपश्चिमले पहिलो खेलमा नै यादगार जित निकाल्यो। वीरगन्जमा भएको खेलमा कर्णालीले १२० रनको झिनो लक्ष्य दिएको थियो। जबाफमा सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। सुदूरपश्चिमका किरण ठगुन्ना २६ र खडक बोहोरा २३ रनमा आउट भए। मिलन बोहोरा १८ तथा कप्तान शेर मल्ल १० रनमा अविजित रहे। कर्णालीले सुरुमा नै दुई विकेट लिई चुनौती दिने प्रयास गरे पनि सफल भएन। कर्णालीको बलिङमा अनुज चनरा र कप्तान दिवान पुनले समान दुई तथा दीपेन्द्र रावत र प्रकाश जैसीले समान एक विकेट आफ्नो नाममा राखे। त्यसअघि टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले कर्णालीलाई ३२ ओभरमा एक सय १९ रनमा अलआउट गर्‍यो।  

कर्णाली ८६/३ को अवस्थामा थियो। थप ३३ रन जोड्दा सात विकेट गुमाएपछि कर्णाली सस्तैमा अलआउट भयो। हेमन्तले पछिल्लो सातमध्ये पाँच विकेट लिएका हुन्। कर्णालीका विपिन रावल ३३, सुनील धमला २८ तथा अरविन्द घर्ती १३ रनमा आउट भए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। कर्णालीका आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमको बलिङमा हेमन्तले सात ओभरमा एक मेडन राख्दै १६ रन मात्र दिए। कप्तान शेर मल्ल, अशोक धामी, नारायण जोशी र मिलन बोहोराले समान एक विकेट लिए। एक खेलबाट सुदूरपश्चिमको २ अंक र दुई खेलबाट कर्णालीको एक अंक  छ। जनकपुरमा भएको खेलमा सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनीले पनि सहज जित निकाल्यो।

जनकपुरमा कप्तान देव खनालको उत्कृष्ट ब्याटिङमा लुम्बिनीले दुई सय ५० रनको लक्ष्य दिएको थियो। तर, जबाफी लक्ष्य पछ्याएको कोसी ३१.४ ओभरमा एक सय १ रनमा नै अलआउट भयो। कोसीका अंकित सुवेदीले ३० रन, कप्तान सुजन थपलियाले ११ रन र तल्लो क्रमका ब्याटर दीपेश कँडेलले १५ रन बनाए। यो नै कोसीका लागि व्यक्तिगत दोहोरो अंकको रन रह्यो। कोसीलाई सस्तैमा समेट्न सन्तोष यादवले चार तथा राजेन्द्र बमले तीन र निर्मल गुरुङले दुई विकेट लिए। सन्तोषले अलरान्ड प्रदर्शन गरे र म्यान अफ दी म्याच पनि भए। उनले ब्याटिङमा ४८ रन र बलिङमा सात ओभरमा ११ रन खर्चिएर चार विकेट लिएका हुन्।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.३ ओभरमा दुई सय ४९ रनमा अलआउट भएको थियो। कप्तान देवले सर्वाधिक ९२ रन जोडे। १०० बल खेल्दै उनले आठ चौका र एक छक्का प्रहार गरे। सन्तोषले ६२ बलमा तीन चौका प्रहार गरे। ओपनर रञ्जित खड्का ३५ रनमा आउट हुँदा तल्लो क्रमका ब्याटर राजेन्द्र बम १६ रनमा अविजित रहे। कोसीको बलिङमा कप्तान सुजन थपलियाले ४ तथा दीपेश कँडेलले दुई विकेट लिँदा विपिन महतो र प्रेम कामतले समान एक विकेट नाममा राखे। दुई खेलबाट लुम्बिनीले तीन अंक जोड्दा कोसीको दुई खेलबाट १ अंक छ।

५० ओभरको प्रतियोगितामा तीन विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेश कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका गरी कुल १० टोलीले प्रतिस्पर्धा गरेका छन्। करिब एक महिना चल्ने प्रतियोगितामा कुल ४६ खेल हुँदै छ। लिगमा सबै टोलीले एकआपससँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीबिच फाइनल हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १० चैत्र २०८२ ०८:३६ मंगलबार