खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा फरक

यसपल्टको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा हुँदै छ। यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम फरक हुनेछ। फरक  यस अर्थमा कि आयोजक सहर रूपमा पोखरा हुनेछ। अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए।

अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ। यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त? सम्भवतः यसको उत्तर भने सजिलो छ।

घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद। यसको सुरुआत भएको थियो, २०३८ सालमा। त्यसयताको दोस्रो संस्करण २०४० मा पोखरामै भएको थियो।

अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास कोट्याउनुपर्छ, चार दशकभन्दा बढी समयअगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन्। पोखरा नै २०७९ पनि फेरि एकपल्ट नवौं राष्ट्रिय खेलकुदक आयोजना भयो।

त्यसो त यो राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्टिय खेलकुद परिषद् थियो, तर पोखरा त्यसको मुख्य आधारस्थल थियो। त्यस अर्थमा पोखरा नेपाली खेलकुदको केन्द्र हो, खेलको भाषामा भन्दा ‘स्पोर्टस हब’।

पोखरासँग विशाल भौतिक संरचनाहरू छन्। यत्तिको संरचना अन्यत्र पाइन्न भन्दा नै हुन्छ। अझ केही खेल पोखरामै मात्र हुन सक्ने स्थितिसमेत छ। जस्तो केही साहसिक खेलहरू। त्यसमा सबैभन्दा अगाडि आउने नाम त ट्रायथलन र प्याराग्लाइडिङ नै भए।

पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएका छन्। तिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन्। यस्ता खेलाडीको सूची बनाउने हो भने त्यो लामो हुने निश्चित छ।

यी यस्तो केही कारण हुन्, जसले पोखरामा यसपल्टको अवार्ड गर्नु ठीक भन्ने मान्यतालाई अझ बलियो बनाउँछ। नामैले प्रस्ट छ, पल्सर मुख्य प्रायोजक रहँदै आएको यस कार्यक्रमको आयोजक हो, नेपाल खेलकुद पत्रकार मञ्च। छोटकरीमा एनएसजेएफ।

नेपाली खेलकुद पत्रकारको छाता संगठन मञ्चको नेपाली खेलकुदको सबैभन्दा ठूलो जिम्मेवारी भन्नु नै यो अवार्ड कार्यक्रमको आयोजना गर्नु हो। मञ्चको के मान्यता रहेको छ, यो अवार्ड कार्यक्रम अब काठमाडौंमै मात्र सीमित हुन्न। कार्यक्रम मोफसलमा हुने हो भने यो अवार्डको महत्त्व अझ बढ्नेछ। मञ्चको खास उद्देश्य त क्रमशः यो अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा गर्ने रहेको छ, यसकै पहिलो खुड्किलो हो, पोखरा।

मञ्चको के पनि तर्क रहेको छ, यो अवार्ड कार्यक्रम मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्त्व नजानिँदो तरीकाले बढ्ने छ नै, अर्कोतर्फ आम खेलाडीलाई स्टार हुनुको महत्त्व पनि थाहा हुनेछ। अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये सबैको भनाइमा एउटा समानता पाइन्छ र यो हो, स्टार हुनुको अनुभव। मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् र यसैकै लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन्।

यस पल्टको अवार्ड कार्यक्रम पोखरामा हुनुमा महत्त्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य। उनी आफैं नेपाली खेलकुदलाई मन पराउने व्यक्ति हुन्। उनकै शब्दमा भन्ने हो भने पोखरामा अहिलेसम्म धेरै खाले गतिविधि भए। खेलकुदका ठूलठूला प्रतियोगिता भए, त्यसमा १३ औं दक्षिण एसियाली खेलकुद पनि पर्छ। अनि उत्तिकै संख्यामा साहित्य महोत्सव, कन्सर्ट धेरै भएका छन्, तर ठूलो मान्न मिल्ने अवार्ड कार्यक्रम भने भएको छैन।

यसपल्टको एनएफजेएफ पल्सर अवार्ड कार्यक्रम पोखरामा भएपछि अब यस्तै खाले कार्यक्रमको बाटो पनि खुलेको छ। अब पोखराले भन्ने छ, यो सहर ठूल ठूला अवार्ड कार्यक्रम आयोजना गर्न तयार छ, त्योभन्दा ठूलो सक्षम छ। सम्भवतः यसपल्टको स्पोटर्स अवार्डले कालान्तरमा छाड्न सक्ने भाष्य भनेकै यही हो। पोखरेली समाज भन्नु नै खेलकुदलाई मन पराउनेमा पर्छ। अवार्ड कार्यक्रम हुनु मात्र भन्नु पनि उनीहरूका लागि खुसीको उपलब्लि भइहाल्छ।  

प्रकाशित: १९ पुस २०८२ १३:४० शनिबार