भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल उपयुक्त रहेको केन्द्रले जनाएको छ। जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल भने ६२ हजार २९९ हेक्टर रहेको छ।
भोजपुरका नौवटै स्थानीय तहका तल्लो भेगमा मुख्य रूपमा धानखेती हुने गरेको छ। यस वर्ष मनसुनका कारण पर्याप्त वर्षा भएपछि अधिकांश क्षेत्रमा समयमै रोपाइँ भएको केन्द्रले जनाएको छ। पर्याप्त वर्षा भएकाले रोपाइँको काम समयमै सम्पन्न भएको हो।
भोजपुरका किसानको प्रमुख खाद्यबाली धान भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ। जिल्लाका केही क्षेत्रमा बर्खे धान लगाइने भए पनि अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरेको छ। बेँसी तथा फाँट क्षेत्रमा भने किसानले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन्। समयमा रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादनमासमेत सकारात्मक प्रभाव पार्ने देखिएको केन्द्रको भनाइ छ।
प्रकाशित: ५ भाद्र २०८३ ०८:३६ शुक्रबार