खेल

खराब ब्याटिङका कारण नेपाल पराजित

केन्याविरुद्ध बलिङ गर्दै नेपालका कप्तान सन्दीप लामिछाने। तस्बिर–एएफपी

शीर्ष ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा शुक्रबार नेपाल घरेलु टोली केन्यासँगको दोस्रो ट्वान्टी–२० खेलमा १८ रनले पराजित भएको छ।

नौरोबीस्थित जिमखाना मैदानमा पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा खराब ब्याटिङका कारण नेपाल पराजित भएको हो। नेपाल ट्वान्टी–२० खेलमा केन्यासँग पहिलो पटक पराजित भएको छ। यसअघि ट्वान्टी–२० को मान्यता रहेका दुई खेलमा नेपाल र केन्याले प्रतिस्पर्धा गरिसकेका छन्। दुई खेलमै नेपालले जित हात पारेको थियो। सन् २०१२ मा भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच पहिलो पटक भेट भएको थियो।

शुक्रबारको जितसँगै केन्याले ५ खेलको शृंखलामा १–१ को बराबरी गरेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलअन्तर्गत शुक्रबार केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा समेटिन पुग्यो।

नेपालले १ सय १४ रन मात्र बनाउन सक्यो। जबाफी ब्याटिङ गर्ने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रनको पारी खेले। आदिल अन्सारीसँग साझेदारी गर्दै इनिङ उकास्ने प्रयासमा रहेका आरिफ रनआउट हुन पुगेका थिए। यसबाहेक आदिल अन्सारी र रोहित पौडेलले समान २०/२० रनको योगदान गर्दा ओपनर पवन सर्राफ १९ रनमा बोल्ड भएका थिए।

कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्रसिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा सिनियर खेलाडीमाथिको भरोसा समाप्त भएको थियो। नेपालको इनिङलाई रोक्ने क्रममा केन्याका इमानुएल बुन्डी, लुकास ओलौच र विराज पटेलले २/२ विकेट लिए भने दुई बलरले समान १/१ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनाएको थियो। केन्याका रकेप पटेलले सर्वाधिक ३५ रनको पारी खेलेका थिए। २५ बलको सामना गरेका पटेलले चार चौका र एक छक्का प्रहार गरेका थिए। यसबाहेक, नेहेमिह ओधिएम्बोले २९, इरफान करिमले २२ र सचिन भुडियाले १४ रन जोडेका थिए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए। यसबाहेक करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए। यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो।

शृंखलामा तेस्रो ट्वान्टी–२० खेल आइतबार हुनेछ। नेपाल र केन्याबीचको ट्वान्टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ। द्विपक्षीय शृंखलाअन्तर्गत ट्वान्टी–२० शृंखलापछि नेपालले भदौ १७ गतेबाट एकदिवसीय शृंखला खेल्ने तालिका छ।

प्रकाशित: ११ भाद्र २०७९ ०२:४५ शनिबार

दोस्रो ट्वान्टी–२० खेल