खेल

विराटनगरमा रात्रीकालीन फुटबल हुँदै

विराटनगरको सहिद रंगशालामा रात्रीकालीन फुटबल प्रतियोगिता हुने भएको छ। विराट मेघा स्पोर्ट्स एकेडेमीले शनिबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो।

एकेडेमीले ‘मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल’ प्रतियोगिता शनिबारदेखि सहिद रंगशालमा आयोजना गर्न लागेको बताएको छ। प्रतियोगिताका संयोजक वसन्तराज अर्यालका अनुसार प्रदेश १ मा ४० वर्षमाथि उमेर समूहका भेट्रान्स खेलाडीबीच पहिलो पटक रात्रीकालीन फुटबल खेल गर्न लागिएको हो। प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशका टोलीबीच प्रतिष्पर्धा हुने अर्यालले बताए।

रात्रीकालीन भेट्रान्स प्रतियोगितासँगै विराटनगरमा तेस्रो पटक फुटबल प्रतियोगिता हुन लागेको हो। यस अघि विराट गोल्डकपको २ वटा संस्करण रात्रीकालीन भइसकेको छ। प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेस प्रदेशको लाहानबाट टोलीको सहभागिता रहेको छ। मोरङको मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान्स क्लब, जहदा भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब  र आयोजकको विराट मेघा भेट्रान क्लबको ए र बी गरी ६ टोली रहेका छन्। त्यसैगरी, झापाबाट दुधे भेट्रान क्लब, सुनसरीबाट दुहवी भेट्रान क्लब र मधेस प्रदेशबाट लाहान भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने छन्।  

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताका लागि कूल ६ लाख ७० हजार रुपैयाँ अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।  

प्रतियोगिताअन्तर्गत शनिबारको उद्घाटन खेल विराटनगरको मिल्स भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीच हुने आयोजकले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ १४:४१ बिहीबार