खेल

आर्मी र ललितपुर हाइ च्याम्पियन

फाइल तस्बिर

नेपाल आर्मी र ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन्।

आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन भएका हुन्। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो। आर्मीका आयुश सिंहले १९ अंक जोडे। पहिलो क्वार्टरमा १०–८ को अग्रता लिएको आर्मी दोस्रो क्वार्टरमा २५–२६ ले पछि पर्‍यो। बाँकी दुई क्वार्टर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्‍यो।

आर्मीले तेस्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन गर्‍यो। उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललितपुरले आयोजक नखिपोटलाई ३७–३५ को झीनो अन्तरले स्तब्ध बनायो। ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन्। पहिलो क्वार्टरमा ललितपुरले ९–८ को सामान्य अग्रता लियो। दोस्रो क्वार्टरमा नखिपोट ११–५ को अग्रता लिँदै मध्यान्तरसम्म समग्रमा पाँच अंकले अगाडि रह्यो।

तेस्रो क्वार्टरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो। चौथो क्वार्टरमा नखिपोटले १०–९ को अग्रता हासिल गरे पनि समग्रमा दुई अंकले पछि पर्दै उपाधि गुमायो। ललितपुरले ३० र नखिपोटले१५ हजार रूपैयाँ नगद पुरस्कार पाए।

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा मोस्ट भेलुएबल प्लेयर घोषित भए। दुवैले जनही पाँच हजार रूपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा र नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरे। साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए।

प्रकाशित: ५ भाद्र २०७९ ०१:०२ आइतबार

नेपाल आर्मी आर्मी र ललितपुर हाइ च्याम्पियन