खेल

हेमजा गोल्डकपलाई नेपाल आईसको प्रायोजन

हेमजा र बीरगन्ज युनाईटेडबीच उद्घाटन खेल

पोखरा–२५ हेमजा गौरी शंकर खेलमैदानमा आयोजना हुने छैटौं नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप बारे जानकारी दिदैं आयोजक हेमजा युनाईटेड क्लबका अध्यक्ष इन्द्र कुँवर। तस्बिरः उमेश पुन/नागरिक

असारको पहिलो साता पोखरा महानगरपालिका–२५ हेमजामा छैटौं संस्करणको नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप शुरु हुने भएको छ। हेमजा युनाईटेड क्लबको आयोजनामा पहिलोपटक मुख्य प्रायोजकसँगको सहकार्यमा गोल्डकप शुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। पाँचौ संस्करणसम्म क्लबले नयाँ वर्षको अवसरमा शुभकामना कप आयोजना गर्दै आएको थियो।  

छैटौं संस्करणको गोल्डकप आयोजना गर्न क्लबले तीनवर्ष कुर्यो। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान (गैरी) मर्मत सम्भार शुरु गरियो। मैदान निर्माण लगभग तयारी भईसकेपछि आयोजनाकै संघारमा रहँदा कोभिड–१९ ले सार्यो। मैदान बनाउन युवा तथा खेलकुद मन्त्रालयले झण्डै डेढकरोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो।  

मैदान स्तरोन्नतिसँगै क्लबले पहिलो पटक मुख्य प्रायोजक भेट्यो। नेपाल आईसले मुख्य प्रायोजन गरेपछि गोल्डकपको रुपमा रुपान्तरण हुन पुग्यो। घरेलु मैदानमा घरेलु क्लब हेमजा युनाईटेडले बीरगन्ज युनाईटेडसँग खेल्दै गोल्डकप उदघाटन हुने क्लबका अध्यक्ष ईन्द्र कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिए। गोल्डकप पोखराको दोस्रो ठूलो राशीको फुटबल प्रतियोगिता समेत हो।  

असार ४ गतेदेखि शुरु हुने प्रतियोगितामा केवल ८ टिमले उपाधि प्रतिस्पर्धा गर्ने छन्। खुमलटार युथ क्लब, बागमती युथ क्लब सर्लाही, चर्च ब्वाईज क्लब काठमाडौं, कालिका स्पोर्टस एकेडेमी, एभेनिर एफसी डाउला क्यामरुन र शसस्त्र प्रहरी बलको एपीएफ क्लबको सहभागिता रहेको क्लबका सचिव सुनिल गायकले बताए।  

उपाधि विजेताले ६ लाख नगद राशीको पुरस्कार प्राप्त गर्ने छ। उपविजेताले नगद ३ लाख रुपैयाँ पाउने छ। क्लबको मैदानको स्तरोन्नतिपछिको पहिलो प्रतियोगिता हो। प्रतियोगिताले एकेडेमी सञ्चालन तथा व्यवस्थापन गरी नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ। मैदान संरक्षण गर्ने छ। गौरी शंकर मैदानलाई प्रादेशिक खेल मैदान पहल गर्ने समेत क्लबले जनाएको छ। उत्कृष्ठ खेलाडीले नगद ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया पुरस्कार थाप्ने छन्। त्यस्तै पाँच विधाका उत्कृष्ठहरुलाई नगद २०÷२० हजार रुपैयाँ प्रदान गरिन छ। म्यान अफ दि म्याचलाई नगद ५ हजार र फेयर प्ले पुरस्कारलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो।  

मन्त्रालयको सहयोगमा मैदानको वरपर नाली(ड्रेन) निर्माण गरिएको छ। व्यवस्थित चेन्जिङ रुम बनाईएको छ। प्यारापिट समेत बनाएको छ। यद्यपी क्लबले प्यारापिट निर्माणलाई अझ बढाउन पहल गर्ने लक्ष्य राखेको छ। क्लबले २०७१ सालदेखि क्लबस्तरीय शुभकामना कप आयोजना गर्दैै आएको थियो। पाँचौ संस्करणसम्म शुभकामना कपलाई निरन्तरता दिएपछि क्लबले छैटौं संस्करणलाई मुख्य प्रायोजकको साथ पाएर पुरस्कार राशी बृद्धि गरेको हो। असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ६१ लख ६८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ६३ लाख ५० हजार अम्दानीको अनुमान गरिएको छ।  

प्रकाशित: २६ जेष्ठ २०७९ ११:०६ बिहीबार

हेमजा गोल्डकप