खेल

हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित छनोट

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित १५औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन्।

आइतबार सातदोबाटोस्थित २५ मिटरको पौडी पोखरीमा सम्पन्न छनोट प्रतियोगितामा नासिर दुई सय मिटर फ्रिस्टायलमा अबुधाबीमा आयोजना हुने विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन्। नेपाल पौडी संघको आयोजनामा भएको छनोटमा उनले १ मिनेट ५७.८५ सेकेन्ड समयका साथ दुई सय मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए।

त्यससँगै उनी ५ सय ९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भए। यसअघि यसै विधाको २५ मिटर दूरीमा ओलम्पियन एलेक्जेन्डर शाहको नाममा दुई मिनेट ४ सेकेन्डको कीर्तिमान थियो।

शाहले दुई वर्षअघि  काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उक्त कीर्तिमान राखेका थिए। यस प्रतियोगितामार्फत त २/२ पुरुष र महिला खेलाडी छनोट गरिनेछ। जसमा ओलम्पियन शाहले पनि विश्व च्याम्पियनसिपको यात्रा तय गरे।

नेपाल पौडी संघले जापानमा सम्पन्न ओलम्पिकमा सहभागी दुई खेलाडी एलेक्जेन्डर शाह र गौरिका सिंहलाई विश्व च्याम्पियनसिपका लागि छनोट गर्ने निर्णय गरेको थियो। उनीहरूको निरन्तर प्रशिक्षण र फिना अंकलाई आधार मानेर ओलम्पियनद्वयलाई छनोट गर्ने संघले तयारी गरेको थियो। तर, गौरिकाले भने उच्च शिक्षा अध्ययनका कारण सहभागी हुन नसक्ने उल्लेख गरेको नेपाल पौडी संघले जनाएको छ।

दुई महिलातर्फ अनुसुया तण्डुकार र उपास्ती महर्जन विश्व च्याम्पियनसिपका लागि छनोट भए। अनुसुयाले सय मिटर फ्रिस्टायलमा एक मिनेट २.६० सेकेन्ड समयका साथ ५ सय १७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३६.२६ सेकेन्ड समयका साथ ४ सय ८९ फिना अंक बटुल्दै छनोट यात्रा तय गरे।

पुरुष एक सय मिटर बटरफ्लाइमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे। उनले उक्त दूरी ५९.१० सेकेन्डमा पूरा गरे। यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा एक मिनेट ००.२५ सेकेन्ड समय थियो। शाहले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उक्त उक्त कीर्तिमान बनाएका थिए।

प्रकाशित: ९ कार्तिक २०७८ ०३:५९ मंगलबार

नयाँ राष्ट्रिय कीर्तिमान १३औं दक्षिण एसियाली खेलकुद (साग नेपाल पौडी संघ