खेल

ब्यानर प्रदर्शनले अर्जेन्टिना जरिवानामा

जुरिच– विश्व फुटबल महासंघ (फिफा) ले ‘फकल्यान्ड टापु हाम्रो' भन्ने दाबीसहित अर्जेन्टिना खेलाडीले ब्यानर प्रदर्शन गरेका कारण २० हजार पाउन्ड जरिवाना गरेको छ।विश्वकपअघि जुन ७ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्णक्रम अर्जेन्टिनाका खेलाडीले उक्त ब्यानर प्रदर्शन गरेका थिए। फिफा अनुशासन समितिले खेलाडीको हाउभाउ समर्थकलाई उक्साउने र आक्रामक बनाउने खालको भएको जनाउँदै छानबिन थालेको थियो। अर्जेन्टिनाका खेलाडीले ला माल्भिनासहरू अर्जेन्टियन हुन् भन्ने ब्यानर प्रदर्शन गरेका थिए। 
फिफाले फुटबलमा राजनीतिक विषय प्रवेश गरेको भन्दै जरिवाना गराएको हो। फकल्यान्ड टापुलाई लिएर सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो। उक्त युद्धमा ६ सय ५५ र ब्रिटिस सेनाका २ सय ५५ मारिएका थिए। 
विश्वकपदौरान इङ्ल्यान्डले विवादास्पद फकल्यान्ड टापुका विषयमा कुनै पनि प्रश्नको जवाफ नदिन आफ्ना खेलाडीलाई निर्देशन दिएको थियो। यो महिना फिफाले अर्जेन्टिनालाई जरिवाना गरेको दोस्रोपटक हो। विश्वकपदौरान प्रि–म्याच कन्फ्रेन्समा खेलाडी उपस्थित नभएको भन्दै फिफाले अर्जेन्टिनालाई २ लाख पाउन्ड पनि जरिवाना गरेको थियो।

प्रकाशित: १० श्रावण २०७१ २१:४९ शनिबार