बुधबार राती पौने २ बजे सेमिफाइनलसुरु हुनुपूर्व पनि ब्राजिलको हैसियत जारी विश्वकपको उपाधि जित्ने बलियो दाबेदारमै थियो। तर २९ मिनेटमा युरोपेली महारथी जर्मनीले ५–० को अग्रता लिँदा दृश्य फेरियो। दाबेदारबाट एकाएक ब्राजिल प्रतियोगिताको ह्विपिङ ब्वाइजको रूपमा परिणत भयो।
घरेलु टोली ७–१ ले पराजित भएको खेलमा जर्मनीले प्रभाव बढाएसँगै ब्राजिलका एक कट्टर समर्थकले टि्वटरमा दुःख पोखे, 'म अझै पनि ब्राजिलको समर्थक हुँ। तर आज ब्राजिलको टोलीबाट खेल्ने यी ११ केटाहरू को हुन्।'
सात समुन्द्रपारि ब्राजिलमा जारी विश्वकपको नतिजाले नेपाली समर्थकमा पारेको प्रभावको यो एउटा सामान्य उदाहरणमात्र हो। व्यापारीहरूका अनुसार यसपालि विश्वकपमा नेपाली समर्थकले विभिन्न टोलीका गरी ३ लाखभन्दा बढी जर्सी खरिद गरे। त्यसमा ३० प्रतिशत त ब्राजिलको मात्र थियो। फुटबलमा बाहेक नामसमेत नसुनेको देशको जर्सी किनेर लगाउने हदका नेपाली समर्थकलाई यो अनपेक्षित हारले विछिप्त पार्योद।
पुलिसका अनुसार सुनसरीमा एक १५ वर्षीया किशोरीले ब्राजिलको हारकै निराशाका कारण आत्महत्या गरिन्। अरु पनि दसौं हजार समर्थक निराश भए। कसैले ब्राजिली फुटबलको अन्त्य भएको अभिव्यक्ति दिए भने कसैले आजीवन ब्राजिललाई फुटबलमा समर्थन नगर्ने कसम खाए।
सिनामंगलमा ब्राजिलको समर्थनमा कस्सिएका शिव गोर्खालीले मध्यान्तरपछि खेल हेर्ने धैर्य जुटाउन सकेनन्। साथीभाइसँगको बाजीमा केही रकमसमेत हारेको बताउने उनले आइन्दा कहिल्यै ब्राजिललाई समर्थन नगर्ने वाचा गर्दै ओछ्यानतिर लागे। 'यस्तो टिमलाई अब कहिल्यै समर्थन गर्दिनँ। पहिलो हाफमै पाँच गोल खाने पनि फुटबल हुन्छ। यस्तो टिम कसरी सेमिफाइनलसम्म पुग्यो होला,' गोर्खालीले आक्रोश पोखे, 'हामी समर्थकलाई त लाज भयो, खेलाडीलाई कस्तो भयो होला।'
ब्राजिलको समर्थनमा पछिल्लो पूरा महिना समर्पण गरेका नुतन वज्राचार्यले बानेश्वर संगमचोकस्थित आफ्नो घरमा ब्राजिलको झन्डा फहराएका छन्। तर बुधबार उनलाई त्यो झन्डा बोझ भयो। फेसबुकमा कपाल खौरिएको तस्बिर राखेका उनले लेखेका छन्, 'केही छैन। खेलमा हार र जित स्वाभाविक हुन्छ। मैले आफ्नो कपाल ब्राजिली टोलीको यो लज्जाजनक हारमा समर्पण गरेको छु।'
वज्राचार्यले आफ्नो फेसबुक वालमा ब्राजिली खेलाडीले समर्थकसँग माफी माग्दै राखेका भनाइ पनि पोस्ट गरेका छन्।
यसैगरी ब्राजिलका अर्का समर्थक मुक्ति राजवंशीले ब्राजिल हार्दा आफूलाई गिज्याउने साथीभाइलाई लक्षित गर्दै टि्वटरमा जवाफ लेखेका छन्। उनको टि्वट यस्तो छ, 'एउटा साथीले तैले सपोर्ट गरेको टिम हार्योद नि भनेर सुनायो। मेरो जवाफ, 'मैले समर्थन गरेको टिमले सधैं जित्ने भए म नेपाललाई विश्वकप जिताइदिन्थें।'
कलंकीमा भेटिएका एक ब्राजिली समर्थकको तर्कमा भने दम थियो। साथीभाइले गिज्याउँदा हारको पीडा थपिएको बताउने उनी भन्दै थिए, 'विश्वकपका पछिल्ला १९ संस्करणमध्ये पाँचपटकमात्र ब्राजिलले जितेको हो। बाँकी सबै पटक हारेकै हो। तर यसपालि हार अन्तर चिन्ताको विषय रह्यो।'
प्रकाशित: २५ असार २०७१ २१:०९ बुधबार