खेल

सात खेलाडीको अग्रता

राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा तेस्रो चरणका खेल सकिँदा सात खेलाडीले अग्रता बनाएका छन्। कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको तेस्रो चरण सकिँदा संयुक्त रूपमा सात खेलाडीले समान ३ अंकसहित अग्रता बनाएका हुन्। 

एसियन एमेच्योर च्याम्पियन हेटौंडाका कृष्ण थापा, फिडेमास्टर रूपेश जैसवाल, क्षितिज भण्डारी, नेपालका पूर्वच्याम्पियन नवीन तण्डुकार, काठमाडौंका प्रेमकृष्ण महर्जन, ललितपुरका सजिन महर्जन, भत्तपुरका निकेन कुसाथा र दमकका राजन सुवेदीले समान ३ अंक जोड्दै संयुक्त अग्रता बनाएका छन्।

नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता राजेशहरि जोशीको स्मृति सोमबारबाट फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको थियो। राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले चेस गोटी चालेर उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए। 

ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा स्विस लिगअनुसार ९ चरणका खेल हुनेछन्। प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। शीर्ष ३३ जनाले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७८ ०४:२५ बिहीबार