खेल

एसियाली टेबल टेनिसमा नेपालका ६ खेलाडी

नेपालका ६ खेलाडीले भारतमा हुने एसियाली टेबल टेनिस टिम च्याम्पियनसिपको २८औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

अक्टोबर ११ देखि १५ सम्म भारतको भुवनेश्वरमा एसियाली च्याम्पियनसिप हुँदै छ। नेपालका समान तीन महिला र पुरुष खेलाडीले च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्दै छन्। कलिंगा एथलेटिक्स बिल्डिङमा खेल हुनेछन्। पुरुषमा संयोग कपाली, रुबिन महर्जन र राजीव चिकँबन्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका राई र इभााना थापाले प्रतिस्पर्धा गर्नेछन्। टिममा पाँच सिंगल्स स्पर्धामा खेल हुने भएको छ।

उक्त च्याम्पियनसिपमा ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली भारतको जाने भएको छ। टोली प्रमुखमा अखिल नेपाल टेबल टेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला छन्।

प्रशिक्षक बासुकलाले उक्त च्याम्पियनसिपमा २२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

 नेपालमै गत जुलाईमा विश्व टेबल टेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबल टेनिस संघले जनाएको छ। राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली टेबल टेनिस खेलाडीहरूलाई चीनमा लामो अवधिसम्म प्रशिक्षण क्याम्पमा राख्न प्रयास भइरहेको बताएका छन्।

प्रकाशित: २३ आश्विन २०८२ ०८:२९ बिहीबार