खेल

आईपीएल २०२६ मा एक खेल पनि खेल्न नपाउने ६ भारतीय अन्तर्राष्ट्रिय खेलाडी

ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को समूह चरणका सबै ७० खेल सम्पन्न भइसकेका छन्। यस सिजन १० टोलीहरूले १५० भन्दा बढी खेलाडीलाई अवसर दिए। अन्तर्राष्ट्रिय स्टारदेखि घरेलु युवा प्रतिभासम्मले मैदानमा मौका पाए पनि भारतका राष्ट्रिय टोलीबाट खेलिसकेका ६ खेलाडी भने समूह चरणका सबै खेलमा बेन्चमा सीमित भए।

महेन्द्रसिंह धोनी  

पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीले चेन्नइ सुपर किङ्सबाट यस सिजन एक खेल पनि खेल्न पाएनन्। प्रतियोगिता सुरु हुनुअघि चोटग्रस्त बनेका उनी सिजनभर फिट हुन नसक्दा मैदान उत्रिन सकेनन्। टोलीले उनको स्थानमा प्रतिस्थापन खेलाडीसमेत ल्याएन।

राहुल त्रिपाठी

राहुल त्रिपाठी, जसले भारतका लागि पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्, कोलकात्ता नाइट राइडर्सको टोलीमा रहे पनि प्लेइङ–११ मा स्थान बनाउन सकेनन्।

उमरान मलिक

त्यस्तै तीव्र गतिका बलर उम्रान मलिकले पनि कोलकात्ता नाइट राइडर्सबाट अवसर पाएनन्। भारतका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका उमरान सिजनभर बेन्चमै सीमित रहे।

जयन्त यादव

भारतका लागि टेस्ट र एकदिवसीय क्रिकेट खेलिसकेका जयन्त यादव पनि गुजरात टाइटन्सबाट मैदान उत्रिन सकेनन्। टेस्ट क्रिकेटमा शतक बनाइसकेका जयन्तका लागि प्लेअफमा समेत अवसर पाउने सम्भावना न्यून देखिएको छ।

कुलदीप सेन

यस्तै दायाँहाते तीव्र गतिका बलर कुलदीप सेनलाई राजस्थान रोएल्सले यस सिजन कुनै खेलमा मौका दिएन।

पृथ्वी श

त्यस्तै भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका पृथ्वी शलाई देल्ली क्यापिटल्सले टोलीमा समावेश गरे पनि खेल्ने अवसर दिएन।

आईपीएल जस्तो प्रतिस्पर्धात्मक प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूले पनि अवसर नपाउनु टोली रणनीति र बढ्दो प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १६:४० सोमबार