खेल

पारालम्पिकमा तेक्वान्दो खेलाडीलाई वाइल्ड कार्ड

विश्व खेलकुदको महाकुम्भ पारालम्पिकको यस संस्करणमा नेपाल पारा तेक्वान्दोका खेलाडीले पहिलो पटक प्रतिस्पर्धा गर्न पाउने भएका छन्।  

जापानको टोकियो सहरमा आगामी भदौ ८ देखि २० गतेसम्म १६औं संस्करणको पारालम्पिक प्रतियोगिता आयोजना हुँदै छ। जहाँ पहिलो पटक नेपालको पारा तेक्वोन्दो टोलीले प्रतिस्पर्धा गर्न पाउने भएको हो। उक्त प्रतियोगितामा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले वाइल्ड कार्डमार्फत प्रतिस्पर्धा गर्न पाउने भएकी हुन्। सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व च्याम्पियनसिपदेखि अन्तर्राष्टिय स्तरमा प्रतिस्पर्धा जनाउन थालेको नेपालको पारा तेक्वान्दोले पहिलो पटक ओलम्पिक खेल्न लागेको हो। 

नेपालका लागि उक्त च्याम्पियनसिपमा यादव कुँवरले कांस्य पदक जितेका थिए। त्यसपछि दुई संस्करणमा पनि कुँवरले थप एक कांस्य र रजत जितेका थिए। टोकियोमा हुने पारालम्पिकमा पलेशाले के–४४ क्याटगोरीअन्तर्गत ५८ केजीमुनि तौलसमूहमा नेपालको तर् बाट चुनौती प्रस्तुत गर्नेछिन्। टोकियो ओलम्पिकलाई लक्षित गर्दै पारा तेक्वान्दोले लामो समयदेखि नियमित अभ्यास गर्दै आएको प्रशिक्षक कविराज नेगी लामाले बताए। लामाले पूर्वप्रशिक्षक कल्याण कुँवर र आफूले ओलम्पिकलाई लक्षित गर्दै लामो समयदेखि तयारी गरेको उल्लेख गरेका हुन्।  

नेपाल तेक्वान्दो संघले वाइल्ड कार्डका लागि पलेशासँगै रञ्जना धामी (के–४४, ४९केजी) को नाम पनि विश्व तेक्वान्दो महासंघ (डब्लुटी) समक्ष पठाए पनि एक जना खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने पक्का भएको हो। डब्लुटी र अन्तर्राष्ट्रिय पारालम्पिक कमिटी (आइपिसी) बाट नेपाललाई एउटा मात्रै वाइल्ड कार्ड दिने व्यवस्था भएपछि विश्व वरीयताको १३औं स्थानमा रहेकी पलेशाले प्रतिस्पर्धा गर्ने पक्का भएको हो। के–४४ अन्तर्गत ४९केजी तौलमा भारतीय खेलाडी अरूणाले वाइल्ड पाएपछि लामो समयदेखि नेपाली पारा तेक्वान्दोबाट खेल्दै आएकी रञ्जनाको टोकियोमा प्रतिस्पर्धा गर्ने लक्ष्य अधुरै रहेको हो।  

यसअघि काठमाडौंमा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रञ्जनाले अरूणालाई पराजित गरेकी थिइन्। ओलम्पिकमा प्रतिस्पर्धा गर्न तेक्वान्दो खेलाडीहरूले छनोट प्रतियोगिताबाट चयन हुनुपर्ने थियो। त्यसका लागि नेपाली खेलाडीले जोर्डनको अम्मान सहरमा गत जेठमा सम्पन्न एसियाली क्षेत्रको छनोट खेल्ने पर्ने भए पनि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धका कारण नेपालले प्रतिस्पर्धा गर्न सकेको थिएन। जसमा पारा तेक्वान्दो खेलाडीले पनि प्रतिस्पर्धा गुमाएका थिए। 

त्यसैले पनि बाह्रै महिना प्रशिक्षण गर्दै आएका खेलाडीले पारालम्पिक खेल्न वाइल्ड कार्डको साहारा लिनुपरेको प्रशिक्षक लामाले बताए। पलेशाले सन् २०१७ मा तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप राम्रो प्रदर्शन गर्दै पाँचौं स्थान प्राप्त गरेकी थिइन्। सोही वर्ष लन्डनमा सम्पन्न सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपको के–४४ विधामा पनि उनी पाँचौं स्थानमा सीमित भएकी थिइन्। चौथो एसियन  

पारा तेक्वान्दो च्याम्पियनसिपमा भने पलेशाले कांस्य पदक जितेकी थिइन्। उनले आठौं विश्व च्याम्पियनसिप र पाँचौं एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेकी थिइन्।

प्रकाशित: ३ असार २०७८ ०२:०८ बिहीबार

पारालम्पिकमा तेक्वान्दो खेलाडी वाइल्ड कार्ड