रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने ११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४९ टोलीले सहभागिता जनाउने भएका छन्।
रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टोलीको सहभागिता निश्चित भएको पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगिता आज सोमबारदेखि सुरु हुँदै छ। सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२/१२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।
सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्सलाई ४ समूहमा विभाजन गरिनेछ। सिनियर ब्वाइजमा प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वार्टर फाइनलमा प्रवेश गर्ने छन्। बाँकी २ विधाका समूह विजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडियन्टका संयोजक दिलीप कार्कीले बताए।
मंसिर १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ। कार्यक्रममा रेडियन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवर, आइटी इन्चार्ज विनोद कार्की र प्रोग्राम कोओर्डिनेटर वर्षाकुमारी आचार्यको उपस्थिति थियो।
प्रकाशित: १ मंसिर २०८२ १२:०८ सोमबार