खेल

एपिएफ समूहविजेता

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफ समूहविजेता बनेको छ।  एफिएफले समूह चरणअन्तर्गत खेलेका तीनवटै खेलमा जित हासिल गर्‍यो भने लुम्बिनीले तीनमध्ये दुईमा जित र एकमा हार बेहोर्‍यो।  

सोमबार एपिएफले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सीमित भयो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ र सरस्वती पुनले अविजित रहँदै १० रन बनाउनुबाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन्।  

बलिङतर्फ एपिएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।  

एपिएफका लागि ओपनर ज्योति पाण्डे र राजमती ऐरीले ४४ रनको साझेदारी गरे। ८.३ ओभरमा पवेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन्। राजमती आउट भएपछि ज्योतिलाई साथ दिन इन्दु बर्मा मैदान उत्रिएकी थिइन्।  

१७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन्। त्यसपछि ज्योति ४९ रन बनाएर आउट भइन्। उनले ५४ बलको सामना गर्दै १ चौका प्रहार गरिन्। यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगरले १० र सोनु खड्काले २ रन बनाए।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् भने कृतिका मरासिनी र सरस्वती पुनले १/१ विकेट लिए। मंगलबारदेखि समूह ‘बी’ का खेल सुरु हुनेछन्। पहिलो खेलमा सुदूर पश्चिम र गण्डकी प्रदेश आमनेसामने हुनेछन् भने दोस्रो खेलमा बागमती र प्रदेश १ भिड्नेछन्।  

आइतबारको हारपछि प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश– २ ले सोमबार भने सान्त्वना जित हात पार्‍यो। आफ्नो अन्तिम खेलमा उसले कर्णाली प्रदेशलाई १ सय ४३ रनले पराजित गर्‍यो। प्रदेश २ ले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ९ विकेट गुमाएर २२ रनमा सीमित हुन पुग्यो।

प्रकाशित: १४ पुस २०७७ ०२:४८ मंगलबार